काठमाडौं । प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ चितवनको संयोजनमा चितवनमा पत्रकार आचारसंहिता र मिडियामा कोभिड–१९ ले पारेको प्रभावबारे अन्तरक्रिया सम्पन्न भएको छ ।
बिहीबार भएको अन्तरक्रियामा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सबै मिलेर सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।
प्रेस काउन्सिलका सदस्य समेत रहेका आचार्यले कोभिड–१९ ले पारेको असरका बीच पनि प्रेस काउन्सिलले आफ्नो सेवा प्रवाह, गुनासो सम्बोधन र मिडिया अनुगमनलाई निरन्तरता दिएको उल्लेख गरे ।
आचार्यका अनुसार हालसम्म छापा अन्तर्गत ३९ उजुरी परेकोमा ३४ फर्छ्योट र ५ वटा प्रक्रिमयामा रहेको तथा विद्युतीय अन्तर्गत १२७ उजुरी, ८६ फर्छ्योट र ४१ वटा प्रक्रियामा रहेको जानकारी दिए ।
कोरोना संक्रमणको उच्च जोखिमका समयमा पनि काउन्सिलबाट पत्रकार, मिडिया र यसक्षेत्रको समस्या र समाधानका लागि काम भइरहेको उनले जानकारी दिए । सदस्य आचार्यले काउन्सिलले जिल्ला जिल्लामा पुगी कोरोनाले पत्रकारिता क्षेत्रमा पारेको प्रभावबारे जानकारी लिएर सरकारलाई सुझावसहितको प्रतिवेदन बुझाएको जानकारी दिए ।
कोरोनाको बहानामा सञ्चारगृहमा कार्यरत पत्रकार निकालिएका पारिश्रमिक नपाएका उजुरीहरू आएको भन्दै उनले संकटका बेला मिडिया सञ्चालकहरू जिम्मेवारीबाट पन्छिन नहुनेमा जोड दिए ।
समस्या आएपछि मिडिया सञ्चालकहरूले पत्रकारहरूलाई बेतलबी बिदामा राख्ने गरेको भन्दै आचार्यले मिडियामा रहेका समस्या समाधानमा सबै पक्ष सचेत हुनुपर्ने बताए ।
कोरोना संक्रमणबाट प्रेस काउन्सिल पनि अछुतो नरहेको भन्दै उनले काउन्सिलमा ८ जना कर्मचारी संक्रमित भएको र दुईजना निको भइसकेको जानकारी दिए ।
श्रमजीवि पत्रकारहरूको हक हितका लागि सम्झौताहिन ढङ्गले काम गर्ने बताउँदै उनले श्रमजीवीको पक्षमा कुनै सम्झौता हुन नसक्ने उल्लेख गरे । नेपालमा पत्रकारिता क्षेत्रमा भएका कानून कार्यान्वयनमा आउन नसक्दा कोरोना कहरको समयमा पत्रकारिता क्षेत्रमा समस्या आएको उनको भनाइ थियो ।
उनले भने, 'कानुनमा भएका कुरा कार्यान्वयनमा आउन नसक्दा अहिले समस्या आएको हो ।' समानुपातिक विज्ञापन प्रणाली, पत्रकार कल्याण कोषमा विज्ञापनको दश प्रतिशत रकम राख्ने, लेखन क्षमता अभिवृद्धि गर्नेलगायतका कार्यक्रमम गर्ने तयारी भइरहेको आचार्यले जानकारी दिए ।
मिडिया बन्द हुनु जनताको आवाज बन्द हुनु भएको भन्दै उनले स्थानीय तहले पनि अहिले सहयोग गर्नुपर्ने बताए । स्थानीय तहले शिक्षा र चेतनामूलक सन्देश मिडियाबाट प्रकाशन, प्रसारण गरेर सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।
देशभरमा ४ सय १० पत्रकारलाई कोरोना संक्रमण देखिएको सो अवसरमा जानकारी दिइयो । तीमध्ये ४ जनाको मृत्यु भइसकेको र ८० जना उपचारका क्रममा रहेका छन् ।