काठमाडौं । अमेरिकाका डेमोक्र्याटिक पार्टीका राष्ट्रपतिका उम्मेदवार जोन बाइडनले केही बेर अघि आफ्नो गृह राज्य डेलावेरबाट सम्बोधन गरेका छन् । सम्बोधन गर्दै उनले भने, "हामी अगाडि छौँ । जित्नेछौँ ।"
उनले अमेरिकाको इतिहासमै सबभन्दा धेरै मत आफ्ना पक्षमा आउने बताए । "२४ वर्षपछि एरिजोना जित्दैछौँ । २८ वर्षमा जोर्जिया जित्दैछौँ । पेन्सिलभेनिया जस्तो महत्त्वपूर्ण राज्य जित्दैछौँ । रेकर्ड नम्बरले परिवर्तन रोजेका छन्," उनले भने ।
कोभिडबारे चिन्ता
"म र कमला ह्यारिसले हिजो महामारीबारे विशेषज्ञसँग कुराकानी गरेका थियौँ । आफन्त गुमाएकाहरूप्रति समवेदना प्रकट गर्न चाहन्छौँ," उनले भने । उनले आफ्नो कार्यकालमा पहिलो दिनदेखि नै महामारी नियन्त्रण गर्न काम थाल्ने बताए ।
मतगणना जारी रहेका बेला बाइडनले धैर्य गर्न आग्रह गरेका छन् । उनले भने, "हामी शान्त रहन आवश्यक छ र प्रक्रियालाई काम गर्न दिनुपर्छ ।"
"तपाईँको मत गणना हुनेछ । त्यसलाई रोक्न जति कोशिस गरिए पनि म त्यसो हुन दिने छैन ।" उनले भने, "हाम्रा अगाडि गम्भीर समस्याहरू छन् । हामीसँग पार्टीगत लडाइँमा खेर फाल्ने समय छैन ।"
बाइडन ह्वाइट हाउस पुग्नका लागि महत्त्वपूर्ण बनेका राज्यहरू पेन्सिलभेनिया, नेभाडा, एरिजोना र जोर्जियामा अग्रता लिइरहेका छन् ।
बिबिसी ।