काठमाडौं । नेपालका कम्युनिस्ट नेता मोहनचन्द्र अधिकारीले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन हुन दिनु नहुने बताएका छन् ।
दुःखले बनाएको पार्टी फुटाएर राजनीति गर्नु बेइमानी हुने उल्लेख गर्दै अधिकारीले यस्तो टिप्पणी गरेका हुन् ।
नैकापस्थित निवासमा उनलाई भेट्न पुगेका सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठसँग कुरा गर्दै अधिकारीले यस्तो बताएका हुन् ।
तपाईंले नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'लाई मेरो तर्फबाट यो सन्देश सुनाई दिनुस कि पार्टी फुटे नेपालमा खतरा हुनेछ, अधिकारीले श्रेष्ठलाई भनेका छन् ।
अधिकारीले दुई अध्यक्षलाई खबरदारी गर्न समेत श्रेष्ठलाई आग्रह गरे । दुई पार्टीलाई थप मजबुत बनाउन सबै एकजुट हुनुपर्ने अवस्था आएको अधिकारीको भनाइ थियो ।
'तपाईंलाई कम्युनिस्ट पार्टीको बारेमा जानकारी छ, मैले यो वा त्यो भनिरहनुपर्दै म यहालाई यो आग्रह गर्न चाहन्छु कि यस्तो अवस्थामा पार्टी फुट्नु हुदैन,' अधिकारीले भनेका थिए, 'दुई अध्यक्ष मिलेर जानुको विकल्प छैन पार्टी फुटाउने धृष्टता कसैले नगरोस ।'
गफको भरमा पार्टी नबनेको उल्लेख गर्दै उनले ठूलो मेहेनत र कसरतको साथ दुई पार्टी एक भएर नेकपा बनेको हो स्मरण गरेका थिए । त्यसैले यस्तो विषम परिस्थितिमा पार्टीलाई एक ढिक्का बनाए र लैजानुको विकल्प नभएको उनको भनाइ थियो ।
मन्त्री श्रेष्ठले आफू यो विषयमा गम्भीर भएको बताएका थिए । 'फुटेर कसैको हित हुदैन मिलेर अघि बढ्नुको विकल्प छैन,' श्रेष्ठले भने । नेता अधिकारीको स्वाथ्य अवस्थाबारे जानकारी लिन मन्त्री श्रेष्ठ नैकाप पुगेका थिए ।