काठमाडौं । अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि जो बाइडेनले आफ्नो कार्यकालको योजना बनाउन थालेका छन् ।
बाइडेनले कोरोनाभाइरस महामारीसँग जुझ्ने विषयलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्ने उनको टोलीले जनाएको छ ।
डोनाल्ड ट्रम्पलाई पारजित गर्दै अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित बाइडेनको टोलीका अनुसार अमेरिकामा कोरोनाभाइरस परीक्षणको दायरा बढाइनेछ र सर्वसाधारणहरूलाई मास्क लगाउन भनिनेछ ।
बाइडनले जातीय विभेद र जलवायु परिवर्तन जस्ता मुद्दाको सामना गर्दै अर्थतन्त्रमा ध्यान केन्द्रित गर्ने पनि जनाइएको छ ।
राष्ट्रपति ट्रम्पले भने हालसम्म पनि हार स्वीकार गरिसकेका छैनन् । त्यसैले बाइडनको जित प्रक्षेपणमै सीमित छ । केही महत्त्वपूर्ण राज्यहरूमा मतगणना अझै जारी छ ।
यद्यपी अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनका लागि आवश्यक इलेक्ट्रोरल मत बाइडेनले प्राप्त गरिसकेको अन्तरार्ष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
तर अमेरिकाका मुख्य नेटवर्कहरूले बाइडन विजयी भएको भनेसँगै डेमोक्र्याटिक दलका तर्फबाट निर्वाचनमा सहभागी उनी जनवरीमा सत्ता सम्हाल्ने योजनासहित तयारीमा जुटेका छन् ।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार बाइडनको नेतृत्वमा अमेरिकाले पेरिस सम्झौता पुन: स्वीकार गर्नेछ । त्यस्तै अमेरिका विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिने निर्णय पनि बाइडनले बदर गर्ने बताइएको छ ।
ट्रम्प प्रशासनले सात वटा मुलुकमा जारी गरेको यात्रा प्रतिबन्धको व्यवस्था पनि अन्त्य गरिने बताइएको छ । ती सात मुलुकमा अधिकांश मुस्लिम राष्ट्र छन् ।
डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बनेका बाइडनले देशलाई "विभाजित हैन एकताबद्ध पार्ने" प्रतिबद्धता समेत व्यक्त गरेका छन् । शनिबारको सम्बोधनका क्रममा उनले जनताले आफूलाई स्पष्ट रूपमा जिताएको भन्दै कृतज्ञता प्रकट गरेका थिए ।
"म तपाईँहरूले मप्रति देखाउनुभएको विश्वासबाट अनुगृहीत छु," उनले भनेका छन्, "म विभाजन गर्न खोज्ने हैन बरु एकताबद्ध गर्ने राष्ट्रपति बन्ने बाचा गर्छु जसले राता र नीला राज्य हैन, केवल संयुक्त राज्य (अमेरिका) देख्छ ।"