काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद चर्कँदै गएपछि विवाद समाधानका लागि गठन गरिएको कार्यदलले अध्यक्षद्वयलाई भेट्ने भएको छ ।
त्यस क्रममा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कार्यदलले आज (सोमबार) भेट्ने कार्यक्रम रहे पनि अर्का अध्यक्ष प्रचण्डलाई भेट्ने सम्बन्धमा भने तय भइनसकेको बताइएको छ ।
पछिल्लो स्थायी समितिमा विवाद चर्कँदै गएपछि त्यसको समाधानको उपाय सुझाउन नेकपाले कार्यदल गठन गरेको थियो । कार्यदलमा ओली, प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षीय दुई-दुई जना सदस्य छन् ।
महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलमा भीम रावल, जनार्दन शर्मा, शंकर पोखरेल, सुरेन्द्र पाण्डे र पम्फा भुसाल सदस्य छन् ।
यसअघि स्थायी समितिमा चर्किएको विवाद समाधानको सूत्रधार नेकपामा यही कार्यदललाई मानिएको थियो । अहिले उत्पन्न विवादमा पनि यही कार्यदल सक्रिय भएसँगै नेकपाको विवाद समाधान हुने भन्नेमा केहीलाई आशावादी बनाएको छ ।
यद्यपी कार्यदलले दिएको सुझावलाई आधार मानेर भएको निर्णय कार्यान्वयन नभएको भनी नेताहरूले असन्तुष्टि जनाइरहेका बेला विवाद समाधानका लागि कार्यदलले खेल्ने भूमिकाले मात्र विवाद समाधान हुने सम्भावना कमै रहेको भन्नेहरू पनि छन् ।
प्रचण्ड-नेपाल पक्षले स्थायी कमिटीले गरेको निर्णय ओलीले कार्यान्वयन नगरेको भन्दै असन्तुष्टि जनाएका छन् । प्रचण्ड नेपाल पक्षले बैठक बोलाउन माग गर्दै आए पनि ओलीले त्यसलाई अस्वीकार गर्दै आएका छन् । उपयुक्त समयमा बैठक बोलाउने ओलीको स्पष्टोक्ति छ ।