परासी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान सञ्चालन गर्न आह्वान गरेका छन् ।
मर्यादित पत्रकारिताले नै समाजलाई सभ्य बनाउने उनले बताए ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र चितवनका पत्रकारका लागि अमेरिकी दूतावासको सहयोगमा मिडिया एक्सन नेपालले आयोजना गरेको भ्रामक समाचार र गलत सूचना न्यूनीकरणसम्बन्धी दोस्रो चरणको तालीम समापन कार्यक्रममा भर्चुअल सम्बोधन गर्दै मन्त्री गुरूङले यस्तो बताएका हुन् ।
‘तपाईँको अभियानमा मन्त्रालयले पनि सहयोग गर्छ, सञ्चार क्षेत्रका कानून पनि सुधार गर्छौँ, ती कानूनमा मर्यादित पत्रकारिता थपिनेछ,’ उनले भे ।
भ्रम फैलाउने र नकारात्मक समाचारलाई बढी प्राथमिकता दिँदा पछिल्लो समय पत्रकारिताप्रतिको विश्वास कमजोर हुँदै गएको उनको भनाइ थियो । मन्त्री गुरुङले सञ्चार क्षेत्रमा रुपान्तरण गर्ने गरी आफू लागेको पनि जानकारी दिए ।
कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले समाजले भरोसा गरेको पत्रकारिता जगतले भ्रम र अफवाह फैलाउनेतर्फ नभई विश्वास बढाउनतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले यस तालीमले पत्रकारितालाई जिम्मेवार र विश्वसनीय बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
प्रेस काउन्सिल नेपालका सदस्य सङ्गिता खड्काले आचारसंहिता पालना गरे पत्रकारिता क्षेत्र विश्वसनीय हुने बताइन् । ‘काउन्सिलले आचारसंहिता पालना गराउन पत्रकारलाई सचेत गराउने र लागू गराउने कार्य गर्दै आएको छ’, उनले भनिन् ।
भ्रामक र गलत सूचना तथा समाचारलाई न्यूनीकरण गरी पत्रकारिता क्षेत्रलाई मर्यादित, विश्वसनीय, जवाफदेही र जिम्मेवार बनाउने उद्देश्यले तालीम सञ्चालन गरिएको मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले जानकारी दिए ।
तीन दिनसम्म सञ्चालन भएको दोस्रो चरणको तालीममा तीन जिल्लाका ३२ पत्रकारको सहभागिता रहेको मिडिया एक्सनकी उपाध्यक्ष प्रियङ्का झाले बताइन् । उनका अनुसार छ जिल्लाका ६४ पत्रकारलाई यस किसिमको तालीम प्रदान गरिएको छ ।