काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा सचिवाल बैठक बस्ने कि नबस्ने भन्नेमै नेताहरूबीच मतभेद देखिएको छ ।
पार्टीमा विवाद बढ्दै गएपछि अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता माधव नेपाल पक्षले पार्टीको बैठक बोलाएर समस्याको समाधान गर्नुपर्ने बताउँदै आएका छन् ।
तर, प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बैठक राख्न चाहीरहेका छैनन् । एक टेलिभिजन कार्यक्रममा ओलीले कसैले बाटामा भनेर बैठक नबस्ने टिप्पणी गरेका थिए ।
ओलीले बैठक राख्न अस्वीकार गरेपछि नेकपाका ९ जना सचिवालय सदस्यमध्ये ५ जनाले पार्टी कार्यालय धुम्बाराहीमा अनौपचारिक बैठक राखी सामूहिक रूपमा भेटेर बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेका थिए ।
सोहीअनुसार गरिएको आग्रह ओलीले अस्वीकार गरिदिएपछि पुनः छलफलमा जुटेका छन् । अध्यक्ष प्रचण्ड, नेता नेपाल, झलनाथ खनाल, बामदेब गौतम तथा नारायणकाजी श्रेष्ठ सचिवालयको बैठक राख्नुपर्ने पक्षमा छन् ।
उता ओली, ईश्वर पोखरेल, राम बहादुर थापा, विष्णु पौडेल भने शुक्रबार धुम्बाराहीमा बसेको सचिवालयको अनौपचारिक भनिएको बैठकमा सहभागी भएनन् ।
उक्त बैठकले गरेको आग्रह ओलीले अस्वीकार गरेपछि मंगलबार पुनः धुम्बाराहीमा नेताहरूले छलफल गर्ने भएका छन् । मंगलबार बस्ने सचिवालयको बैठक औपचारिक हुन्छ या अनौपचारिक हुन्छ भन्ने स्पष्ट भएको छैन ।
मंगलबार बेलुकी ४ बजेका लागि अध्यक्ष प्रचण्डले बैठक राख्ने तयारी गरेको उनी निकट स्रोतले बतायो । सम्भवतः आज औपचारिक बैठक बस्ने सम्भावना रहेको स्रोतको भनाइ छ ।
यसअघि ओलीले बैठक राखिए त्यो नै पार्टी फुटको प्रस्थानविन्दू हुने भनेपछि अर्को पक्ष बहुमत सचिवालय सदस्य हुँदा हुँदै पनि अनौपचारिक बैठक बसेर औपचारिक बैठकका लागि आग्रह गर्ने निर्णयमा पुगेको थियो ।