काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डाकेको सचिवालय बैठक सकिएको छ ।
आज (मंगलबार) दिउँसो ४ बजेका लागि धुम्बाराहीमा डाकिएको सचिवालयको अनौपचारिक बैठक सकिएको हो । बैठक बस्नुअघि प्रचण्ड सुरूमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न धुम्बाराही पुगेका थिए ।
प्रचण्डसहित पाँच सचिवालय सदस्य उपस्थित अनौपचारिक बैठकले ओलीलाई बैठक बोलाउनका लागि बिहीबार सम्मको समय दिने भएको छ ।
‘भोलि प्रधानमन्त्री उपत्यकाबाहिर जाने कार्यक्रम रहेछ,' बैठकपछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, 'पर्सी कात्तिक २७ गते प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्षले सचिवालय बैठक राख्नुहुन्छ भन्ने आशा छ ।’
बैठकमा प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र श्रेष्ठको उपस्थिति रहेको थियो ।
त्यस्तै ओलीसहित सचिवालय सदस्यहरू ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल भने उपस्थित थिएनन् ।
यद्यपी २७ गते (बिहीबार) बैठक राख्नका लागि ओली सहमत भइनसकेको श्रेष्ठले जानकारी दिए । ‘बैठक बस्न प्रचण्डले अनुरोध गर्नुभएको छ । अध्यक्ष ओलीले २७ गते बैठक बस्न पनि सहमति जनाइसक्नु भएको छैन,' श्रेष्ठले भने, 'हामी अपेक्षा गर्छौं कि प्रचण्डले प्रस्ताव गरेअनुसार पर्सी बैठक बस्ने कुरामा अध्यक्ष ओलीले सहमतिकै आधारमा सचिवालय बैठक राख्नु हुनेछ ।’
प्रवक्ता श्रेष्ठले कोरोना नियन्त्रण, भारतीय गुप्तचर एजेन्सी रअका अध्यक्षसँगको भेट, मन्त्रिपरिषद पुनःगठन र पार्टी एकताका विषयमा पार्टीमा छलफल गर्नका लागि बैठक बोलाउन माग गरिएको बताए ।
उनले बैठक बस्न धेरै ढिलाई गर्न नहुने बताए । तर, २७ गते पनि ओली बैठक बोलाउन सहमत नभए के गर्ने भन्ने प्रश्नमा उनले त्यसबारे केही नसोचिएको जानकारी दिए ।