काठमाडौं । रौतहटको देवाहीगोनाही नगरपालिका ७ स्थित दलित बस्तीमा आइतबार आगलागी भयो । उक्त आगलागीमा ७ जनाको घर जलेर नष्ट भएको छ ।
गोनाही गाउँमा भएको आगालगीमा परी जागरित राम, किरित राम, रामप्रवेश राम, सर्फलाल राम, रामबलि पासवान, रामविश्वास पासवान र प्रमोद महतोको घर जलेर नष्ट भए ।
आगलागीबाट करिब १३ लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । सो आगलागीका कारण पाँचजनाको घर पूर्णरूपमा र दुईजनाको घरमा आंशिक क्षति पुगेको जनाइएको छ ।
आगलागीबाट घरबारविहीन दलित परिवारलाई समस्या पारेको छ । अझ जाडोको समयमा आगलागी भएकोले उनीहरू थप पीडित बनेका छन् । उनीहरूले राहात उपलब्ध गराइदिन माग पनि गरेका छन् ।
आगलागीबाट घर जलेर नष्ट भई पीडित बनेकाहरूलाई पूर्वमन्त्री तथा रौतहटका सांसद प्रभु साहले आगलागी पीडितहरूका लागि घर निर्माण गर्न पहल लिएका छन् । नेकपा प्रदेश नं. २ का अध्यक्ष समेत रहेका साहले आगलागी पीडितहरूको पक्की घर निर्माणको पहल लिएका हुन् ।
साहले घरवार विहिन आगलगी पिडितहरुका लागि तुरुन्त राहतको व्यवस्था गर्न पार्टीको स्थानीय नेता - कार्यकर्ता, सुरक्षा निकाय, सहयोगी समाजसेवी तथा निर्वाचित स्थानीय जनप्रतिनिधिहरुसंग आग्रह पनि गरेका छन् ।
उनले आगजनी/आगलगीको ठोस कारण पता लगाई आवश्यक क्षतिपूर्तिको प्रवन्ध मिलाउन नेपाल सरकार सहित सम्बन्धित निकायको समयमैं गम्भीर ध्यानाकर्षण समेत गराएका छन् ।
सांसद साहले पीडितहरूका लागि तत्कालका लागि राहात पनि उपलब्ध गराएका छन् । उनले पीडित परिवारलाई राहतस्वरुप ग्यास सिलिन्डर तथा चुल्हो, २५ किलोको एक/एक बोरा चामल, ५ किलो दाल तथा प्रति घर एक/एक हजार रुपैयाँ पीडितलाई उपलब्ध गराएका छन् ।
सो राहत संघीय सांसद समिना हुसेन, प्रदेश सांसद कुन्दन कुश्वाहा, देवाही गोनाही नगर उपप्रमुख परनिया देवी, तथा सांसद साहका स्वकीय सचिव विजय यादव लगायतले वितरण गरेका थिए ।