काठमाडौं । पूर्वमन्त्री, नेकपा प्रदेश नं. २ का अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद प्रभु साहले रौतहटको गरुडा नगरपालिका– ५ स्थित महम्मदपुरमा ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरेका छन् ।
सांसद साहले चुनावी प्रतिवद्धताअनुसार उक्त ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरेका हुन् । मंगलबार महम्मदपुरमा एक कार्यक्रम गरी ८ सय परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको हो ।
कार्यक्रममा संघीय सांसद समिना हुसेनले सांसद साहको धुवाँ मुक्त क्षेत्र बनाउने अभियानलाई महाअभियानको संज्ञा दिइन् ।
प्रदेश सांसद कुन्दन कुशवाहाले महम्मदपुर गाउँ ऐतिहासिक गाउँ भएको र यसभन्दा अगाडिका शासकले गाउँलाई पछाडि पारेको बताउँदै सांसद साहले यस गाउँलाई शहरमा रुपान्तरण गर्न सुरुवात गरेको बताए ।
प्रतिनिधि सभाको निर्वाचनको समयमा साहले आफ्नो निर्वाचन क्षेत्रलाई धुवाँमुक्त बनाउने घोषणा गरेका थिए । सोही घोषणा अनुरुप उनले बिभिन्न गाउँमा ग्यास सिलिन्डर तथा चुल्हो वितरण गर्दै आएका छन् ।
यसअघि यस क्षेत्रको मौलापुर नगरपालिका तथा फतुवा विजयपूर नगरपालिकामा ग्यास सिलिन्डर तथा चुल्हो वितरण भई धुवाँमुक्त नगर घोषणा भइसकेको छ ।
त्यस्तै गुजरा नगरपालिका, कटहरीया नगरपालिका तथा देवाही गोनाही नगरपालिकाका अधिकांस गाउँमा ग्यास सिलिन्डर वितरण भइसकेको छ ।
कार्यक्रममा मौलापुर नगरपालिकाकी मेयर रीना कुमारी साह, नेकपा प्रदेश सदस्य त्रिभुवन साह, साहका स्वकिय सचिव विजय यादव, गरुडा मेयर प्रत्यासी विपिन जयसवाललगायतका नेता कार्यकर्ता उपस्थिति थियो ।