काठमाडौं । प्रधानमन्त्री तथा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष प्रच्ण्ड ल्याएको प्रस्तावको जबाफ फर्काएका छन् ।
प्रचण्डको प्रस्ताव प्रस्तावमा कूण्ठा र निहित स्वार्थ लुकेको कृत्रिम आरोपको सँगालो मात्रै भएको भन्दै ओलीले उक्त प्रस्ताव प्रथम दृष्टिमै खारेजयोग्य भएको टिप्पणी गरेका छन् ।
खासगरी प्रचण्डलगायत सचिवालयका ५ जना सदस्यले सचिवालयमा १९ पृष्ठको प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावलाई ओली पक्षले राजनीतिक प्रस्ताव नभएर 'आरोपपत्र' मात्रै भएको टिप्पणी गरेका छन् ।
प्रचण्डको प्रस्तावप्रति ओलीले भनेका छन्, ‘यो ‘प्रस्ताव’ बैठकमा छलफल या परामर्श गर्नका लागि रितसमेत नपुगेको, तपाईंको नितान्त व्यक्तिगत असन्तुष्टि, सीमाहिन कूण्ठा र निहित स्वार्थ लुकेको कृत्रिम आरोपको सँगालो मात्रै हो । यो प्रथम दृष्टिमै खारेजयोग्य छ । पार्टीका बैठकहरुलाई अग्रगामी एजेण्डाबाट बराल्ने र व्यक्तिगत आरोप–प्रत्यारोप एवं कुण्ठामा अलमलाइरहने छुट कसैलाई हुनुहुँदैन भन्ने स्पष्ट पार्न चाहन्छु ।’
१० दिन लगाएर ओलीले लेखेको जबाफी प्रस्तावमा प्रचण्डको प्रस्तावलाई जबाफ दिइएको छ ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा पेश गरेको जवाफी पत्र खामबन्दी गरेर सचिवालय सदस्यलाई बाँडिएको छ । सचिवालय सदस्यले अध्ययन गरेपछि मंसिर १६ गते अर्थात् मंगलबार बस्ने बैठकमा यसका विषयमा छलफल हुने उनले बताए ।
नेकपा विवाद उत्कर्षमा पुगेपछि प्रचण्डले १९ पृष्ठको प्रस्ताव ल्याएका थिए । शनिबार ओलीले त्यसको जबाफमा ३८ पृष्ठको जबाफ फर्काएका हुन् ।
यी दुई प्रस्तावमा सचिवालय सदस्यहरूको प्रतिक्रियापछि नेकपा विवाद समाधान हुन्छ या थप चर्कन्छ ? भन्ने कुराको निर्क्यौल हुनेछ ।
नेकपाले स्थायी समिती र केन्द्रीय समितिको बैठक पनि बोलाएको छ । यी बैठकले पार्टीमा उत्पन्न विवादलाई कुन दिशामा लैजाने हो त्यसका लागि अझै केही दिन पर्खिनुपर्ने छ ।