सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकामा शैक्षिक सुधारका लागि प्रधान अध्यापक बैठक तथा बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गिरएको छ ।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख नवराज बरालको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष पानिराज बम्जनको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको हो ।
गाउँपालिकाभरीका ४७ वटा विद्यालयका प्रअ, बिभिन्न शिक्षक संघ तथा संगठनका अध्यक्षको समेत सहभागिता रहेको कार्यक्रममा प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष पानिराज बम्जनले कोरोना भाइरसको संक्रमणका कारण लामो समयदेखि अबरुद्ध पठनपाठन सञ्चालन गर्न अझै चुनौति रहेको बताए ।
उनले विद्यालय खोल्नु भन्दा पनि समयमा शैक्षिक कोर्स पूरा गर्न र गुणस्तरीय शिक्षा प्रदान गर्नु मुख्य चुनौति रहेको बताए ।
'हामिले शिक्षालाई प्राथमिकतामा राखेर काम गरेका छौं, उनले भने, 'साढे १५ करोड बढी यही वर्ष शिक्षा क्षेत्रमा लगानी गरिएको भए पनि उपलब्धी सन्तोष जनक पाउन सकिएन ।'
गुणस्तरीय शिक्षाका लागि गाउँपालिकाले कुनै कसुर बाँकी नराख्ने भन्दै अध्क्ष बम्जनले प्रअ, व्यवस्थापन समिति र अभिभावकहरूले पनि यस विषयमा गम्भीर हुन आग्रह गरे ।
गाउँपालिकाकी उपाध्यक्ष संगिता माझीले कोभिड- १९ का कारण शैक्षिक क्षेत्रमा ठूलो असर गरेको भन्दै भन्दै यस्ता विषयलाई सुधार गर्न सरोकारवालाहरू सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने बताईन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेलले कोभिडको त्रासका बीच विद्यालय खोल्नु निकै चुनौतिपूर्ण रहेको बताए ।
उनले विद्यालय नखोली पनि नहुने भएकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट मिति २०७७/७/२० मा स्वीकृत विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ मा उल्लेखित मुख्यमुख्य विशेषताहरूको अनिवार्य कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा मरिण बहुमुखी क्याम्पसका अध्यक्ष तथा नेकपा नेता रामकुमार पौडेल, नेकपा मरिण गाउँपालिकाका अध्यक्ष गोपाल बुढाथोकी, नेपाली कांग्रेस मरिण गाउँपालिकाका सभापति सुर्य बहादुर गोले, मरिण गाउँपालिकाका प्रवक्ता प्रख्यात मोक्तान, मरिण गाउँ शिक्षा समितिका सदस्य तथा वडाअध्यक्ष कुर्साङ लामा लगायतले महामारीका बीच विद्यालय सञ्चालन र गुणस्तरीय शिक्षाका लागि आवश्यक सुझाब प्रस्तुत गरेका थिए ।
मरिण गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ अध्यक्ष बम्जनले दिएका थिए । मरिण गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नवराज बरालले कार्यक्रममा सहभागीहरूमा धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन गाउँपालिकाका विकाश शाखा प्रमुख सुदिप केसीले गरेका थिए ।