काठमाडौं । 'सरप्राइज'का रूपमा महासचिव विष्णु पौडेलको जन्मदिनको केक काटेर सुरूवात भएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा धेरै बेरसम्म उक्त खुसीको माहोल रहिरहन पाएन ।
सुरूमा पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने पूर्वनिर्धारित निर्णय उल्ट्याउँदै अन्तिम समयमा प्रधानमन्त्री निवास बालुवाटार सारिएको बैठकको सुरूवात महासचिव पौडेलको जन्मदिन मनाएर सुरू भएको थियो । त्यस अवसरमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पौडेललाई केक ख्वाउँदै गरेका तस्बिरहरू सार्वजनिक भएका थिए ।
केक खाने कार्यक्रम सम्पन्न भएपछि ओलीले बैठकको सुरूवात गरेको स्रोतले जानकारी दिएको छ । त्यसपछि उनले प्रचण्डसमक्ष एजेन्डाका सम्बन्धमा जिज्ञासा राखेका थिए ।
त्यसपछि प्रचण्डले सचिवालयमा प्रस्तुत भएका दुईवटै (ओली र आफ्नो) प्रस्तावमा छलफल हुनुपर्ने बताएको तर, ओलीले त्यसलाई अस्वीकार गरेको स्रोतको दावी छ ।
प्रचण्डको प्रस्ताव लाञ्छनामात्रै भएको र त्यसले पार्टीको साख गिराएको टिप्पणी गर्दै पार्टीमा त्यससम्बन्धमा छलफल हुन नसक्ने मात्र होइन उक्त प्रस्ताव फिर्ता लिएर प्रचण्डले माफीले माग्नुपर्ने ओलीले अडान राखेका थिए । ओलीले अहिले पार्टीमा अन्तरिम कमिटी भएकाले बहुमत र अल्पमत आफूले नमान्ने टिप्पणी गरेका थिए ।
सचिवालयमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम लगायतले दुवै प्रस्तावउपर छलफल सुरू भइसकेको उल्लेख गर्दै छलफल गर्ने कि नगर्ने भन्ने प्रश्न उठ्न नसक्ने बताएका थिए ।
बैठकमा प्रचण्डलगायत नेताले ओलीको आलोचना गरेका छन् । स्रोतका अनुसार आज बोल्ने नेताहरूमध्ये ओलीले प्रचण्डको आलोचना गरेका छन् भने प्रचण्ड, खनाल, नेपाल, गौतम तथा श्रेष्ठले ओलीको आलोचना गरेका छन् ।
ओलीले पार्टीमा बहुमतको तागत देखाउन खोजिएको तर यो अन्तरिम कमिटी भएकाले यसमा बहुमत अल्पमत नभइ सहमतिमा निर्णय हुने भएकाले अहिले बहुमत अल्पमतको निर्णय हुन नसक्ने बताएका थिए । उनले नेकपामा आफू दुईदिने पाहुन नभएको बताएका थिए ।
त्यसपछि अन्य नेताले पनि आफूहरू पनि दुईदिने पाहुना नभएको भन्दै अरूलाई मिनीमाइज नगर्न ओलीलाई भनेका थिए ।
त्यसपछि मुख मिठो गरेर सुरू भएको नेकपाको बैठक झण्डै झण्डै बाझाबाझको स्थितिमा पुगेर स्थगित भएको छ ।
नेकपा सचिवालयको बैठक बुधबार फेरि बस्ने भएको छ ।