काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार प्रहरीले गिरफ्तार गर्ने क्रममा प्रहरीको लठ्ठीले पेलिँदा आफ्नो करङ दुःखेको बताएका छन् ।
उनले प्रहरीको डण्डाको पेलाइमा परेका आफ्ना करङ दिउँसोभन्दा साझ र हिजोभन्दा आजब बढी दुखेको जनाएका छन् । 'पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउसो भन्दा साझ दुखेर आयो, हिजो भन्दा आज दुखाइ बढी छ,' उनले भनेका छन् ।
नेता पौडेलले सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न नसकेको भन्दै गुनासो गरेका छन् । साथै उनले वास्तवमे लोकतन्त्र कहिले साकार हुने हो भन्ने चिन्ता पनि व्यक्त गरेका छन् । 'असली लोकतन्त्र कहिले साकार हुने हो ? मेरो चिन्ता यसैमा छ,' पौडेलको भनाइ छ ।
बुधबार तनहुँमा एक पुल उद्घाटनका क्रममा झडप हुने स्थिति सिर्जना हुनसक्ने आशंकामा प्रहरीले पौडेललगायत नेतालाई नियन्त्रणमा लिएको थियो । त्यसक्रममा पौडेल ठेलमठेलमा परेका थिए । अहिले त्यसरी पेलिदा आफ्नो करङ दुखेको पौडेलले बताएका हुन् ।
निषेधाज्ञा उल्लंघन गरेको भन्दै बुधबार पक्राउ परेका पौडेललाई प्रहरीले साँझ रिहा गरेको थियो । पौडेल पक्राउ परेपछि सरकार र प्रशासनको व्यापक आलोचना भएको थियो ।
पौडेललाई पक्राउ गर्ने प्रहरीको कदमप्रति सामाजिक सञ्जालहरूमा व्यापक टिप्पणी भएको थियो । जसका कारण दिउँसो पक्राउ परेका नेता पौडेल साँझ रिहा भएका हुन् ।
पौडेलसँगै पक्राउ परेका काँग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेलाई पनि रिहा गरिएको छ । व्यास नगरपालिकाका दुई वडा जोड्ने पुलको उद्घाटनका लागि पुगेका पौडेललाई प्रहरीले गिरफ्तार गरेको थियो ।
रिहापछि नेता पौडेलले अधिनायकवादी चरित्र देखाउँदै आफूलाई पक्राउ गरिएको बताए । उनले सरकारले शक्ति दुरूपयोग गरेको आरोप लगाएका थिए । आफ्नो पालामा निर्माण भएको पुल उद्घाटन गर्न स्थानीय सरकार र पुल निर्माण समितिले आफूलाई बोलाएकाले गएकोमा सरकारले सुरक्षा दिनुको सट्टा उल्टो अधिनायकवादी चरित्र देखाएको पौडेलको भनाइ थियो ।
'यसबाट ओली सरकार लोकतन्त्रप्रति प्रतिबद्ध छैन भने देखिएको छ । राजनीतिक गतिविधिलाई निषेध गर्न खोज्नुले अन्तत: लोकतन्त्रलाई नै आघात पुर्याउँछ । सरकारको यो कृत्यको विरोध हुनु आवश्यक छ,' उनले भने ।