- गोपाल बराल
रामचन्द्र पौडेल नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्थापित नाउँ हो । पञ्चायतकालका प्रजातन्त्र पुनःस्थापनाका आन्दोलन हउन् कि प्रजातन्त्र पुनःस्थापना (२०४६ चैत २६) यताका राष्ट्रिय घटनाक्रमका सन्दर्भ हउन्, पौडेलले थुप्रै अनुभव सँगाल्नु भएको छ ।
विक्रम सम्वत् २०४६ को राजनीतिक अधिकार प्राप्तिको आन्दोलनले दिएको उपलब्धी उपभोग गर्दै पौडेल मन्त्री, उपप्रधानमन्त्री र तत्कालीन प्रतिनिधिसभाको सभामुखजस्तो गरीमामय पदमा आसिन पनि भईसक्नु भएको छ ।
आँफैं प्रधानमन्त्रीमा लगातार १७ पटक पराजित भए पनि उहाँ आवद्ध दल नेपाली काँग्रेस २०४६ को परिवर्तनयता सबैभन्दा बढी समय सरकार सञ्चालन गरेको दल हो । यस क्रममा कानूनको पालनाबारे नेता पौडेललाई केही अर्थ्याउनु अर्घेल्याँईको बिल्ला परे पनि एउटा नागरिकका हैसियतमा आफूले सम्मान गर्दै आएका नेताबारे केही भन्ने हक छ भन्ने ठानेर यहाँ केही शब्द व्यक्त गर्ने जमर्को गरेको हुँ ।
कुनै ठाउँ विशेषमा असमान्य अवस्था हुँदा मौजूद कानूनअनुसार शान्ति सुरक्षा खलल हुन नदिन अधिकार प्राप्त अधिकारीले निषेधाज्ञा लगाउने र सचेत नागरिकले त्यसको परिपालना गर्नु पर्ने सामान्य कुरा हो जस्तो मलाई लाग्छ । स्वयं कैयौं पटक सरकारमा रहीसक्नु भएका पौडेललाई आफ्नो दलको सरकारको पालामा यस्ता धेरै निषेधाज्ञाको अनुभव नभएको त होइन होला ।
१७ मङ्सिर २०७७ तनहुमा स्थानीय प्रशासनले असमान्य अवस्था भएको ठानेर निषेधाज्ञा जारी गरेकै बेला मात्र उद्घाटनको शिलालेखमा नाउँ टसाउँने उद्देश्यले तपाँईले निषेधाज्ञाको अवज्ञा गर्नु भएको घटनाले कतैबाट चित्त बुझाउने ठाउँ नभएर आफ्ना धारणा पोख्दैछु ।
ममाथि काँग्रेस नभएकाले यस्तो टिप्पणी गर्यो भन्ने वात लाग्न सक्ला, हो म काँग्रेस होइन । तर, एउटा के कुरा स्पष्ट पारौं भने म काँग्रेसको उछित्तो काढ्ने कोटीको मनुवा पनि होइन ।
मैले बुझ्न नसकेको कुरा पौडेलले निषेधाज्ञा अवज्ञा गरेर पाउनु भएको उपलव्धी के हो भन्ने पनि हो । दोहारो झडप नहोस् र खासमा नेता पौडेलकै सुरक्षा सतर्कता अपनाउन स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्नु परेको बताएको छ । फरक दलले सरकार चलाएका बेला बलपेल गर्नुपर्छ भन्ने मान्यताले कतै घर गरेको त होइन ?
पौडेललाई असमान्य अवस्थामा सुरक्षा दिँदै अवस्था सामान्य हुनासाथ तीन घण्टाभित्र नै घर जान दिइएको सम्बन्धित प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।
अब मभित्र उठेको प्रश्न चै पौडेल विशिष्ट कोटीका नेता हुनु भएको हुँदा उहाँलाई कानून नलाग्ने भन्ने पो हो कि ? म खासमा निषेधाज्ञा अवज्ञा गरेर पौडेलले दिन खोज्नु भएको सन्देश र उहाँले अवज्ञाबाट प्राप्त गर्नु भएको उपलव्धी तथा त्यसपछिको मच्चिएको रोइलो बुझ्न नसकेर रनभूल्ल परेको छु ।
कानूनको पालनाको त कुरै छाडौं, पौडेल तहका नेताले पौठेजौरी खेल्दै शिलालेख टाँस्न निषेधाज्ञाको अवज्ञा गर्दै देखाउनु भएको हर्कतलाई के भन्ने होला ? यो उहाँको प्रचारको भोकले रन्थन्याएको अटेरीपन हो कि यति घटनामा सर्वसत्तावाद देख्ने काँग्रेसको चश्मा उदार लोकतान्त्रिककरण हुँदै गएको हो, खुट्याउने गाह्रो भयो ।
अहिले यो घटनापछि लाग्दैछ, के काँग्रेसका लागि आन्दोलनका अन्य विषय बाँकी रहेनछन् ? हाय... हाम्रो लोकतान्त्रिक गणतन्त्र...!!