काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसका कार्यकर्ताहरूको बाक्लो उपस्थिति देखेपछि प्रशासन आफूलाई पुल उद्घाटन गर्नबाट रोक्ने कार्यमा पछि हटेको टिप्पणी गरेका छन् ।
बुधबार उनलाई पुल उद्घाटन गर्नबाट रोकिएको थियो । तर, बिहीबार भने शक्ति प्रदर्शनसहित उनले पुल उद्घाटन गरेका छन् । उद्घाटनपछि प्रतिक्रिया दिँदै नेता पौडेलले यस्तो बताएका हुन् ।
'आज तनहुँमा कार्यकर्ताको बाक्लो उपस्थिति देखेपछि अवरोध गर्न बाट प्रशासन पछि हटेको प्रष्ट छ,' पौडेलले भनेका छन् ।
उनले सत्ता र शक्तिको दुरूपयोग गरी आफूलाई बुधबार पुल उद्घाटन गर्नबाट रोकिएको पनि टिप्पणी गरेका छन् ।
'सत्ता र शक्तिको दुरुपयोग गरि उपभोक्ता समिती, स्थानीय सरकार र स्थानीय जनताको माग र इच्छा विपरीत तनहुँको कार्यक्रम रोक्ने काम भयो,' उनले लेखेका छन् ।
बुधबारको तुलनामा बिहीबार पुल उद्घाटनका लागि ठूलो संख्यामा नेपाली कांग्रेसका कार्यकर्ताहरू जम्मा भएका थिए । त्यसक्रममा उनीहरूले बुधबार प्रहरीले गरेको व्यवहारको विरोधमा नाराबाजीसमेत गरेका थिए ।
तनहुँ नै गृहजिल्ला भएका नेता पौडेललाई सोही जिल्लामा पुल उद्घाटन गर्न अवरोध भएपछि स्थानीय कार्यकर्ता आक्रोशित भएका थिए । जसका कारण नेपाली कांग्रेसले पनि सो पुल पौडेलबाटै उद्घाटन गराउने अड्डी लियो ।
बिहीबार पौडेललाई साथ दिन गाउँगाउँबाट कांग्रेस कार्यकर्ताहरू आएका थिए । उनीहरूले सरकार, प्रधानमन्त्री केपी ओली तथा तनहुँका प्रमुख जिल्ला अधिकारीविरूद्ध नारावाजी गरेका बताइएको छ ।