– सन्दीप काफ्ले 'प्रश्रित'
शंकै शंकाको एउटा विन्दु हो झोला । झोला भन्ने वित्तिकै सबैको मनमा एउटा प्रश्न स्वाभाविक रूपमा उठ्ने गर्दछ- ओहो ! त्यो झोलामा के होला ?
यहाँ झोला नबोक्ने मान्छे कमै हुन्छन् । कहिलेकाहीँ झोला सानो भयो भने पनि शंका हुन्छ, ठूलो भयो भने पनि शंका हुन्छ । शंकै शंकामा झुन्डिएको वस्तु हो झोला ।
'ए श्याम कता जान लागिस् ? के हो आज त झोला निकै ठूलो छ त ? के लिएर जान लागिस् ?' बाटोमा हिड्दै गरेको श्यामलाई रामेले सोध्ने प्रश्न यस्तै हुन्छ ।
सबैको आखाँ सबैभन्दा पहिले झोलामा नै जाने गर्छ । तर त्यो झोलाभित्र के छ भन्ने कुराचाहीँ त्यो झोला बोक्ने व्यक्तिदेखि बाहेक अरूलाई थाहा हुदैँन । सधैँ झोला बोकेर हिड्ने मानिसले एकदिन झोला नबोकी हिड्यो भने पनि त्यो व्यक्तिमाथि शंका गर्ने गरिन्छ ।
अनि फेरि सोध्ने गर्छन्- 'तैंले बोक्ने झोला कता गयो ? आज त झोला नबोकी हिडेको छस् त !' कति आश्चर्य होला झोला नबोकेको दिन त्यो व्यक्तिलाई ?
आखिर के छ यस्तो झोलामा ? साच्चै नै यसको रहस्य धेरै ठूलो होला । फेरि यो मान्छेदेखि बाहेक अरु कुनै पनि प्राणीले बोक्दैनन् ।
झोला निश्चित ठाउँमा मात्रै नभएर विश्वभरि नै बोक्ने प्रचलन छ । बरु मान्छेले देशको झन्डा बोक्न छोडेका छन् तर झोला बोक्न छोडेका छैनन् । कसै कसैले खाली नै भए पनि स्टाईल देखाउन झोला बोक्ने गर्छन् । मान्छेको नजरमा यहाँ जति ठूलो झोला बोक्न सक्यो त्यति ठूलो अनि धनी भइन्छ ।
अनि जति सानो बोक्न सक्यो त्यति सानो अनि गरीब भईन्छ । मान्छेको स्तर अन्तर पनि झोलाले छुट्याएको छ । तर ठूलो झोला बोक्ने मान्छे कति दुःखी छ, निराश छ, उसले त्यो ठूलो बनाउन कति झुट बोलेको छ भन्ने कुरा उसलाई मात्रै थाहा हुन्छ । अनि सानो झोला बोक्ने मान्छे कति ईमान्दारी, सुखी अनि खुसी छ भन्ने कुरा सानो झोला बोक्नेलाई थाहा हुन्छ ।
सर्वप्रथम यो झोलाको सूत्रपात शिवजीले गर्नु भएको थियो । भगवान शिव भिक्षाटन गर्न जाँदा कमण्डलु लिई जानुहुन्थ्यो । मान्छेले दिएको सामग्री त्यही कमण्डलुमा राख्नुहुन्थ्यो । अनि त्यो सामानलाई आफ्नो ठाउमा पुर्याउनुहुन्थ्यो । त्यही कमण्डलु नै आज आएर झोलामा परिणत भएको हो भन्ने मेरो कथन छ । अहिलेको समयमा झोला नबोक्ने मान्छे कमै मात्रामा भेटिन्छन् ।
पुँजीवादी होध्स् या साम्यवादी नै किन नहोस्, सबैले झोला भिरेर नै हिड्छन् । झोला धेरै किसिमका हुने गर्छन् । कसैको झोलामा लामो तुना बाँधिएको हुन्छ त कसैको झोलामा छोटो तुना । कसैले झोला टाउकोमा भिरेर हिड्छन् भने कसैले पिठ्युँमा ।
आखिर जे होस् कपडामा तुना बाँधी झुन्डाएर हिड्ने भएकाले नै यसलाई झोला भनिएको होला । अनि यो झोला बोक्नेलाई चाहीँ झोले । आहा कति गहिरो सम्बोधन 'झोले' । झोलाको ठूलो रुप बोरा, बाकस, भकारी, भण्डार हुँदै संसार भएको होला अनि यसको सानो रुपमा पोको, झोली, थैली, गोजी, गाँठो भएको होला । आखिर जे होस् झोला या यसको ठूलो या सानो रुप किन नहोस् त्यसभित्र के छ भन्ने कुरामा चाहीँ सबैमा शंकैशंका छ । त्यही शंकामा म पनि अल्झिएको छु ।
बाटोमा भेटिएको बेवारिसे झोला, घरको किलामा झुन्डाएको झोला, अफिस जाँदा भिर्ने झोला, विद्यार्थीले बोक्ने झोला, नेताले बोक्ने झोला, एउटा दक्ष व्यक्तिले बोक्ने झोला, एउटा कमजोर व्यक्तिले बोक्ने झोला, बाटामा भोकभोकै छट्पटीरहेको व्यक्तिले बोक्ने झोला, शत्रुले बोक्ने झोला, अनि जनहितका लागि लडिरहेका योद्धाले बोक्ने झोला ।
के सबैको झोला एउटै छ या अन्तर छ ?