काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद बढ्दै जाँदा शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका विद्यार्थीहरूको भेला काठमाडौंस्थित थापाथलीमा भएको छ ।
थापाथलीस्थित् इन्जिनियरिङ क्याम्पसमा भएको विद्यार्थीहरूले भेलामा प्रचण्ड-नेपाल पक्षीय नेताहरूले विद्यार्थीहरूलाई सम्बोधन गरेका थिए । भेलालाई नेकपाका स्थायी कमिटी सदस्य र केन्द्रीय नेताहरूले सम्बोधन गरेका छन् ।
भेलामा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल लगायतले बोलेका थिए । त्यसैगरी केन्द्रीय सदस्यहरू रामकुमारी झाँक्री, लेखनाथ न्यौपाने, ठाकुर गैरेले पनि बोलेका थिए ।
अष्टलक्ष्मी शाक्य
भेलामा पुगेकी शाक्यले पत्रकारहरूसँग कुराकानी गर्दै शनिबार सचिवालय बैठक बस्नैपर्ने र त्यसमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी हुनुपर्ने बताइन् । ओलीले बैठकमा भाग लिन्नँ भन्न नपाउने उनको टिप्पणी छ ।
बैठकबाटै निकास दिनुपर्ने भन्दै शाक्यले अध्यक्षले बैठकमै आउँदिन भन्ने नपाउने उनको तर्क छ । दुईवटा प्रतिवेदन आउँदैमा पार्टी विग्रहमा गइनसक्ने बताएकी उनले शनिबारको सचिवालयमा बसेर संयमताका साथ बहस गर्न नेताहरूलाई आग्रह गरिएको पनि बताइन् ।
पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्ने बताउँदै उनले अरु विकल्प खोजे नोक्सान हुने टिप्पणी गरिन् । अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको दस्तावेज मान्दिनँ पनि भन्ने त्यसैको प्रतिउत्तर पनि दिने ओलीको शैलीमाथि शाक्यले प्रश्न उठाइन् । लिखित प्रतिउत्तर दिने तर, छलफलमा बस्दिनँ भन्न नमिल्ने उनको टिप्पणी छ ।
'लिखित प्रतिउत्तर दिने अनि छलफलमा भाग नलिने भनेर भाग्न मिल्छ ? बैठक छोडेर जान मिल्छ ? उहाँले समस्याको समाधान कसरी दिन खोजिराख्नुभएको छ, कहाँ गएर खोजिराख्नुभएको छ ?', शाक्यको प्रश्न थियो, 'बाहिरबाट समस्याको समाधान हुँदैन ।'
पम्फा भुसाल
अर्की स्थायी कमिटी सदस्य पम्फा भुसालले शनिबारको बैठकमा अध्यक्ष ओली उपस्थित हुने विश्वास व्यक्त गरिन् । समस्याको समाधान गर्न बैठकमा भाग नलिनेलाई नेतृत्व मान्न नसकिने उनको भनाइ थियो ।
'आफैंले ३८ पेजको प्रस्ताव पेश गर्नुभएको छ र उहाँसित सम्बन्धित भएर सचिवालयमा अरुले पनि प्रस्ताव राख्नुभएको छ,' उनले भनिन्, 'ती प्रस्तावहरूको छलफलमा सहभागी नबनेर, त्यसबाट उम्केर समस्याको हल हुन्न ।'
शनिबार बस्ने सचिवालय बैठकमा ओली सहभागी नहुने भन्ने कुरामा आफूलाई विश्वास नभएको जनाइन् । 'उहाँ आउनुहुन्छ, आउनुपर्छ र बसेर छलफल गरेर समस्याको सामना गर्नुपर्छ,' भुसालले भनिन्, 'समस्याको सामना नगर्ने नेतृत्व हुन सक्दैन ।'
त्यस्तै
भेलामा सहभागी नेतृ रामकुमारी झाँक्रीले आफूहरूले व्यक्ति पूजा गर्न नसक्ने बताइन् । 'हामीले व्यक्तिपूजा गर्न सक्दैनौं,' प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीतर्फ लक्षित गर्दै उनले भनिन्, 'आलोचनात्मक चेत जसमा छैन, जसमा मार्क्सवादी दृष्टिकोण छैन, त्यस्ता व्यक्तिको लहडमा पार्टी चल्न सक्दैन ।'
अनेरास्ववियूका नेता तथा कार्यकर्ताहरू अरिंगालको शैलीमा नभइ मौरी बनेर अघि बढ्नुपर्ने उनको भनाइ थियो । उनले पार्टी एकता प्रक्रियामा कहाँनेर चुकेको हो त्यसको सही मूल्यांकन हुनुपर्नेमा पनि जोड दिइन् ।
'कर्मशील मौरी शैलीमा अघि बढ्नुपर्छ,' झाँक्रीले भनिन्, 'पार्टी एकता प्रक्रियामा कहाँनेर चुकेको छ, त्यसको सही मूल्यांकन हुनुपर्छ । एकताका आधारहरूलाई बेवास्ता गरिएको छ । स्वार्थ बाँडिएको छ । यथास्थितिमा निमोनियाले सताएको फोक्सो बोकेको पार्टी एक भएर काम पनि छैन ।'
भेलामा सहभागी नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले समाजवादको आधार तयार गर्ने गरी अघि बढ्नुपर्नेमा कम्युनिस्टहरूमा त्यसको बहस पनि हुन छाडेको बताए । यस्तै स्थिति रहे जनताले नेकपाको कार्यकर्ता हुँ भने ढुंगामुढा गर्ने स्थिति आउने टिप्पणी गरे ।
'व्यवहारमा अघि बढ्नु त अलग कुरा हो, बहससमेत हुन छाडेको छ,' उनले भने, 'अब जनतामाझ म नेकपाको कार्यकर्ता हुँ भनेर जाने हो भने जनताले ढुंगामुढा गर्ने स्थिति मैले देखेको छु ।'
सत्तामै जाने, मन्त्री नै चाहीने भए पार्टी बन्नु या फुट्नुको अर्थ नहुने भन्दै उनले नयाँ आधारमा नयाँ ढंगले राजनीतिलाई सिफ्ट गर्नुपर्नेमा जोड दिए । न्यौपानेले पनि प्रधानमन्त्री ओलीको शैलीको आलोचना गरेका थिए ।