काठमाडौं । बन्दाबन्दीको समयमा सिन्धुलीको सुनकोशी गाउँपालिका ६ अमारेमा तुरतुरे खानेपानी आयोजना तथा न्यौपानेटारमा निगौली ओडारे खानेपानी आयोजना निर्माण कार्य सम्पन्न भएका छन् ।
खानेपानी आयोजनामार्फत् अमारे र न्यौपानेटारका घरहरुमा ५९ धारा निर्माण भई ४२३ जना लाभान्वित भएका छन् । अमारेका ३९ घरमा धारा निर्माण भई १४५ पुरुष १३६ महिला गरि जम्मा २८१ जना र न्यौपानेटारका २० घरमा धारा निर्माणपश्चात् ७२ पुरुष र ७० महिला गरी जम्मा १४२ जना प्रत्यक्षरुपमा सुरक्षित खानेपानीबाट लाभान्वित भएका हुन् ।
नेपाल रेडक्रसको आव्हानमा स्थानीय सुनकोशी गाउँपालिका र स्थानीय बासिन्दाको सहयोग र सहभागितामा यो सफलता भएको नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए ।
उनले भने, ‘रेडक्रसको ७० प्रतिशत र स्थानीय पालिका तथा बासिन्दाहरुको ३० प्रतिशत रकम लगानी भएको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ र सुनकोशी गाउँपालिका सिन्धुलीको आर्थिक साझेदारीमा नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाको पहलमा निर्माण कार्य सम्पन्न भएको हो ।’
तुरतुरे खानेपानी आयोजना निर्माण गर्न रेडक्रसको २१ लाख ६० हजार ८९३ रुपैयाँ, सुनकोशी गाउँपालिकाको ७ लाख ९५ हजार ५०८ रुपैयाँ र समुदायको एक लाख २० हजार ४६८ रुपैयाँ गरि कुल रकम ३० लाख ७६ हजार ८७० रुपैयाँ खर्च भएको नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाका बास अधिकृत जयनारायण चौधरीले जानकारी दिए ।
निगौली ओडारे खानेपानी आयोजनामा रेडक्रसको रकम १५ लाख ३५ हजार ५४० रुपैयाँ, सुनकोशी गाउँपालिकाको ४ लाख ७७ हजार ८०८ रुपैयाँ र समुदायको ८१ हजार १७७ रुपैयाँ गरि कुल रकम २० लाख ९४ हजार ५२७ रुपैयाँको लागतमा खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न भएको हो ।