काठमाडौं । प्रतिनिधि सभा विघटन भएपछि विकसित भएको राजनीतिक तरंगले मुलुकलाई नै प्रभावित तुल्याएको छ ।
सो विषयमा सभामुख अग्निप्रसाद सापकोटालाई पनि विवादमा तान्ने प्रयासहरू भइरहेका छन् । कतिपयले सभामुखको भूमिकामाथि पनि प्रश्न उठाएका छन् ।
तर, प्रतिनिधि सभा विघटन जस्तो मुलुक नै प्रभावित तुल्याउने कदम चाल्दा पनि प्रधानमन्त्री र राष्ट्रपतिले सभामुखसँग एक पटक पनि सल्लाह गर्ने आवश्यकता पनि ठानेनन् । उल्टै कतिपयले सभामुखमाथि प्रश्न उठाउन थालेपछि उनको सचिवालयले एक प्रेस नोट जारी गरी स्पष्ट पारेको छ ।
यस्तो छ सभामुखको सचिवालयले जारी गरेको प्रेस नोट ।
सम्माननीय सभामुखको सचिवालय
प्रतिनिधिसभा, संघीय संसद
प्रेस नोट
मिति २०७७ पुस ५ गते ९० जना माननीय सदस्यहरुले संघीय संसद सचिवालयमा दर्ता गर्नुभएको अविश्वासको प्रस्तावका विषयमा सम्माननीय सभामुखज्यूलाई समेत जोडी टिप्पणी गरिएको सम्बन्धमा थप स्पष्ट पार्न यो प्रेस नोट जारी गरिएको छ ।
सो दिन सम्माननीय सभामुखज्यूलाई सम्बोधन गरी सचिवालयमा दर्ताका लागि ल्याइएको अविश्वासको प्रस्तावमा सभामुखज्यूले दर्ताका लागि लिखित निर्देशन दिनु भएको हो । तत् पश्चातका प्रशासनिक प्रक्रियालाई समेत जोड्दै उहाँलाई विवादमा ल्याउनु वाञ्छनीय छैन । तथ्यहरुलाई एकातिर पन्छाएर सम्माननीय सभामुखज्यूलाई समेत विवादमा तान्ने प्रयासस्वरुप सृजना गरिएको भ्रममा नपर्न सबैमा आग्रह गर्दछु ।
अविश्वासको प्रस्ताव दर्ता समयका सम्बन्धमा संसद सचिवालयका प्रवक्ताद्वारा पुस ८ गते प्रेस विज्ञप्तीमार्फत स्पष्ट गरिसकिएको समेत यसै प्रेस नोटमार्फत स्मरण गराउन चाहन्छु ।
श्रीधर न्यौपाने
प्रेस विज्ञ,
२०७७ पुस १७