काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिको चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा भइरहेको अमर्यादित अभिव्यक्ति दिनेमाथि कारबाही गरिने बताएका छन् ।
अखिल नेपाल महिला सङ्घले आज बुझाएको ज्ञापनपत्र बुझ्दै उनले अमर्यादित अभिव्यक्ति दिनेमाथि मन्त्रालयले छानविन सुरु गरिसकेको बताए ।
मन्त्री थापाले भने, ‘राष्ट्रपतिको बारेमा सडकबाट राजनीतिज्ञले उठाएको विषय गैरकानूनी र अपराधिक हो, त्यसबारेमा छानबिन भइरहेको छ, कारबाही गर्न निर्देशन दिएको छु ।’
सङ्घले प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध सडकमा र सामाजिक सञ्जालमा अत्यन्तै अमानवीय, अमर्यादित, अशोभनीय, अराजक र निकृष्ट ढङ्गका भाषा र अभिव्यक्ति आइरहेकोमा आपत्ति जनाउँदै छानबिन गरी कारबाही गर्न माग गर्दै गृहमन्त्रीसमक्ष ज्ञापन पत्र प्रस्तुत गरेको हो ।
‘आगामी वैशाखमा निर्वाचन गराउने निर्णय स्वागतयोग्य छ, लोकतन्त्रमा सभा, जुलुस गर्ने आ–आफ्ना विचार अभिव्यक्ति स्वतन्त्रता हुन्छ, तर अराजक र निकृष्ट ढङ्गबाट अभिव्यक्ति दिनु आपत्तिजनक छ ।’ उनीहरुको ज्ञापन पत्रमा भनिएको छ ।
सङ्घले आगामी निर्वाचनलाई स्वच्छ र निष्पक्ष वातावरणमा सम्पन्न गराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।