काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसेको छ ।
आइतबार दिउँसो पेरिसडाँडामा सुरू भएको स्थायी कमिटिको बैठकले प्रदेश र जिल्लाको नेतृत्वको टुंगो लगाउने बताइएको छ ।
नेकपामा विभाजनपछि ओली पक्षले प्रदेशको नेतृत्वको टुंगो लगाए पनि प्रचण्ड–नेपाल समूहले भने अहिलेसम्म लगाएको थिएन ।
तत्कालीन नेकपाको ४४ सदस्यीय स्थायी कमिटीमध्ये २९ जना प्रचण्ड-नेपाल समूहमा छन् । उनीहरूले केही दिनअघिमात्रै पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघठनपछि नेकपामा विभाजन आएको छ । प्रधानमन्त्रीको कदमविरुद्ध प्रचण्ड–नेपाल समूह सडक आन्दोलनमा छ ।
माधव नेपालको नेतृत्वमा कार्यदल गठन
प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठकले पार्टी भित्रका बिभिन्न जिम्मेवारी तय गर्न कार्यदल गठन गरेको छ । पार्टीका नेताहरुलाई जिम्मेवारी तोक्न अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा एक कार्यदल गठन गरिएको हो ।
उक्त कार्यदलले पार्टी भित्रका विभिन्न जिम्मेवारीबारे टुंगो लगाउने र पार्टी एकताका थप काम गर्ने प्रचण्ड-नेपाल समूहका नेताहरुको भनाई छ ।
आईतबार पेरिसडाँडामा अध्यक्ष नेपालको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको स्थायी कमिटी सदस्य योगेश कुमार भट्टराईले जानकारी दिए ।
स्थायी कमिटी बैठक सोमबार १ बजे फेरि बस्ने छ । बैठकका लागि आज एजेन्डा पनि तय भएका छन् ।
बैठकले प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदमविरूद्धको आन्दोलनलाई थप व्यवस्थित बनाउने, प्रदेश सरकारहरूबारे र ओलीले पार्न सक्ने प्रभावलगायत एजेन्डामाथि सोमबारको स्थायी कमिटी बैठकमा छलफल हुने नेताहरूले बताएका छन् ।
पार्टीका नेताहरूलाई दिइएको जिम्मेवारी हेरफेर गर्नेलगायत एजेन्डामाथि पनि सोमबारको बैठकमा छलफल हुने नेताहरूले बताएका छन् ।