काठमाडौं । भारतको औषधि नियामकले दुई वटा कोभिड- १९ विरुद्धका खोपलाई आपत्कालीन रूपमा प्रयोग गर्न अनुमति दिएको छ ।
ती खोपहरू अक्सफर्ड विश्वविद्यालयले एस्ट्राजेनिका कम्पनीसँग मिलेर विकास गरेको कोभिसिल्ड र भारतमै विकसित कोभ्याक्सिन छन् ।
ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया डीसीजीआईले कोभिसिल्ड खोप ७०.४२ प्रतिशत प्रभावकारी रहेको बताएका छन् । भारतले यो वर्ष ३० करोड मानिसहरूलाई खोप दिने योजना बनाएको छ ।
कोभ्याक्सिन भने भारत बायोटेकले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चसँग मिलेर तयार पारेको हो ।
डीसीजीआईका निर्देशक डा. बिजी सोमानीले कोभ्याक्सिन सुरक्षित रहेको र त्यो प्रतिरक्षा क्षमता बलियो बनाउन सक्षम रहेको जनाएका छन् ।
उक्त निर्णयपछि ट्वीट गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले डीसीजीआईको कदमलाई निर्णायक मोड बताएका छन् । जसमा बधाई भारत भन्दै ती खोपले देशलाई कोरोनामुक्त पार्न सघाउने जनाएका छन् ।
विज्ञ समूहले खोपको सुरक्षा र प्रतिरक्षाको तथ्याङ्क मूल्याङ्कन गरेर सार्वजनिक हितका लागि आपत्कालीन स्थितिमा प्रतिबन्धित उपयोगका लागि अनुमति दिन सिफारिस गरेको थियो ।
ती समूहले शुक्रवार र शनिवार ती खोपको स्विकृतिका लागि सिफारिस गरेका थिए । अन्य खोपको परीक्षण पनि जारी रहने बताइएको छ ।
कोभिशिल्ड र कोभ्याकसिन दुवै खोपहरू दुई खेपमा दिइनेछ । जसलाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने बताइएको छ । अक्सफर्ड/एस्ट्राजेनिका खोपलाई स्थानिय रूपमै भारतको सेरम इन्स्चिच्युटले उत्पादन गरिरहेको छ ।
उसले प्रत्येक महिना ५ करोड डोज खोप उत्पादन गर्ने जनाएको छ । भारतमै कैडिला हेल्थकेयरको अर्को एउटा खोपलाई समेत तेस्रो चरणको मानव परिक्षणका लागि अनुमति दिइएको छ ।
बिबिसी ।