काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना लागि मात्र नभएर सबैका लागि चुनाबको ढोका खोलेको जिकीर गरेका छन् ।
मंगलबार कर्णाली प्रदेशसभाको विशेष अधिवेशनमा उनले लोकतन्त्रमा संकट आयो भने जनतामा जाने पद्धति रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सोही गरेको दावी गरे ।
सांसद खरिद बिक्री गरेर फेरि अर्को सरकार बनाउने फोहोरी खेल खेल्नुभन्दा जनतामा जानु राम्रो रहेको उनको भनाइ छ ।
मुख्यमन्त्री गुरुङले प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गरेर निर्वाचन घोषणा गर्नु लोकतन्त्रको अभ्यास गरेको बताउँदै फेरि चुनावमा गएर आफूले गरेका कमजोरी स्वीकार्दै आफूले गरेका काम बताएर फेरि मत माग्नुपर्ने उल्लेख गरे ।
प्रधानमन्त्रीले चुनावको ढोका आफ्नो लागि मात्र हैन सबैका लागि खोलेको उल्लेख गर्दै उनले भने, 'बहुमत प्राप्त गर्न नसक्ने दलका लागि बहुमत प्राप्त गर्ने अवसर प्राप्त भएको छ । एउटा पनि सिट नपाएका दलका लागि एउटा सिट प्राप्त गर्ने अवसर प्रास्त भएको छ ।’
प्रदेशसभामा बोल्ने प्रतिपक्षी सांसदहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको बताएपछि उनले विगतदेखि नै पार्टीभित्रका नेताहरुको तँ तँ र म म का कारण बहुमत पाएका प्रधानमन्त्रीहरुले काम गर्न नपाएको उल्लेख गरे ।
‘पहिले गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका बेला आफ्नै पार्टीभित्रकाले राष्ट्रिय जनजागरणको नाममा उनको पुत्ला जलाउने काम गरे । आफ्नै पार्टीबाट काम गर्न नदिएपछि फेरि त्यही संसदबाट प्रधानमन्त्री खोज्नतिर लाग्नुभएन म जनतामा जान्छु भनेर लाग्नुभयो,' उनले भने, 'अहिले संसद विघटनबारे संविधानमा धारा धारा खोजिरहेको छ, त्यतिखेर पनि लेखेको थिएन । लोकतन्त्रमा सार्वभौम जनताबाट बहुमत पाएको ब्यक्तिलाई प्रधानमन्त्री बन्ने अधिकार हुन्छ । जनताले काम गर्न पठाएपछि पार्टीभित्रको झगडाले काम गर्न दिएन भने फेरी जनतामै जाने हो ।’