काठमाडौं । नेकपा (प्रचण्ड-नेपाल समूह) का अध्यक्ष माधवकुमार नेपालले केपी ओली सच्चिने व्यक्ति नभएकोले मिलेर आन्दोलन गर्न जसपा र कांग्रेसलाई आह्वान गरेका छन् ।
संसद् विघटन असंवैधानिक भएको भन्दै जसपाले आयोजना गरेको अन्तरक्रियामा नेपालले प्रधानमन्त्री ओलीले सनकका भरमा संसद् विघटन गरेको आरोप लगाए ।
उनले भने, ‘एकजनाको सनकको भरमा, एकजनाको गलत व्याख्याको आधारमा सिंगो मुलुक कुर्बान हुन सक्दैन । देशको भाग्य र भविष्य खाडलमा पार्न सकिँदैन । यो अधिनायकवादको विरुद्धमा मञ्चमा मात्रै होइन सडकमा पनि सँगसगै अगाडि बढौं ।’
सबै मिलेर अगाडि बढ्नुको विकल्प नरहेको बताएका उनले स्थायित्वका लागि अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नदिएको तर्क अगाडि सारे । उनले संविधानमा रहेको प्रावधानबारे ओलीको साथमा रहेका संविधानसभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्वाङ र अहिलेका महान्यायाधिवक्ता अग्नि खरेलका पुराना कुरा पढ्नुपर्ने बताए ।
अध्यक्ष नेपालले प्रधानमन्त्री केपी ओलीले आफ्नो विचार नमान्ने सबैलाई एक-एक गरी सिध्याउने टिप्पणी गरे । ‘केपी ओलीले सिध्याउन अहिले पार्टीभित्रबाट सुरु गरेका छन्,’ उनको भनाइ छ, ‘विरोध गर्ने अरुलाई पनि एकऔएक गर्दै सिध्याउँदै जानुहुन्छ ।’
संविधान मिच्ने, निरंकुश र स्वेच्छाचारी काम गरेकाले ओलीलाई कारबाही गरिएको उनले स्पष्ट पारे । ‘उहाँलाई माया लागे नेकपा ओली गुट भनिदिए हुन्छ,’ उनको भनाइ छ, उहहाँलाई कम्युनिष्ट पार्टी पनि मन पर्दैन। कतिदिन नेकपा रहने हो ।’