काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रूपमा प्रतिनिधि सभा विघटन गरेको भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
जसपाले प्रतिनिधि सभा विघटनविरुद्ध देशका विभिन्न शहरमा जनप्रदर्शन र विरोधका कार्यक्रम गर्ने घोषणा गरेको हो । त्यसका लागि जसपाले प्रमुख वक्ता पनि तोकेको छ ।
बिहीबार जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले चरणवद्ध कार्यक्रमको घोषणा गर्दै विज्ञप्ति जारी गरेका छन् ।
'सरकारलाई संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरी प्रतिनिधि सभा भंग गरिएको कार्य असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कार्य हुन्,' उक्त पत्रका भनिएको छ, 'जनआन्दोलन, जनयुद्ध, मधेश जनविद्रोह, आदिवासी जनजाति, थारू लगायतका आन्दोलन र जनसंघर्षहरूका बखत जनताले गरेको संघर्ष, त्याग र वलिदानबाट प्राप्त उपलब्धीहरू- संघीयता, लोकतान्त्रिक गणतन्त्र, समावेशीकरण, धर्मनिरपेक्षता, नागरिक स्वतन्त्रता, मौलिक हक आदि धरापमा पारिएका छन् ।'
जसपाको जनप्रदर्शन तथा विरोधका चरणबद्ध कार्यक्रमअन्तर्गत पुस २५ मा विराटनगरमा डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र मृगेन्द्रसिंह यादव, धनगढीमा नवराज सुवेदी, गोविन्द चौधरी र दुर्गा सोव तथा भैरहवामा महन्थ ठाकुर, महेन्द्र राय यादव र सर्वेन्द्रनाथ शुक्लालाई प्रमुख वक्ता तोकिएको छ ।
यस्तै पुस २७ गते वीरगन्जमा उपेन्द्र यादव, लालबाबु राउत, लक्ष्मणलाल कर्ण र सुनील रोहित, नेपालगन्जमा अशोक राई, मोहम्मद इस्तियाक राई, अकवाल अहमद र अमृता अग्रहरी तथा जनकपुरमा राजेन्द्र महतो, शरतसिंह भण्डारी, रेणुकुमारी यादव, वृषेशचन्द्र लाल र उमाकान्त झा तोकिएका छन् ।
जसपाले पुस २९ गते पोखरा, सुर्खेत र बिर्तामोड, माघ ३ गते धरान, मलंगवा, सिरहा, कलैया, तौलिहवा र रौतहट तथा ७ गते सबै जिल्लाका सदरमुकामलगायत प्रमुख सहरमा जनप्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।