काठमाडौं । जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले तिज र कुसे औँसीले कोरोना भाइरसको संक्रमण बढ्नसक्ने भन्दै सतर्कता अपनाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
आहिले मुलुक कोरोना भाइरसको संक्रमणको माहामारीको जोखिममा रहेको उल्लेख गर्दै डा. पाण्डेले जम्मा भएर नाचगान तथा दर खाने जस्ता गतिविधि गर्न नहुने भन्दै सचेत गराएका छन् ।
‘अहिले हामी कोरोना संक्रमणको महामारीमा छौं हाम्रो ठाउँमा पनि संक्रमित धेरै छन्, को संक्रमित हो तथा को होइन भनेर परीक्षण नगरी थाहा हुँदैन,’ डा. पाण्डेले भनेका छन्, ‘तसर्थ यसपटकको तिजमा दिदीबहिनी जम्मा हुने, नाचगान गर्ने तथा दर खाने गतिविधि नगर्नु हुन हार्दिक अनुरोध गर्दछु ।’
‘दर खाने नाममा अपच हुनेगरी गरिष्ठ भोजन सेवन गरेमा अम्लपित्त बढेर तथा झाडावान्ता भएर अस्पताल जानुपर्यो भने अर्को जोखिम हुनेछ,’ पाण्डे भन्छन्, ‘हल्का र सधैझैँ सामान्य खाना खाने गरौँ, दरले डर हुन्छ, घरभित्र बसेर गीत गाउँदा कुनै व्यक्ति संक्रमित छ भने उसले सबैजनालाई संक्रमण सार्न सक्छ । यसपटक टेलिभिजन तथा रेडियोमा तीज सुनौं र हेरौं ।’
त्यस्तै उनले कुसे औँसी मनाउँदा पनि सचेत हुन आग्रह गरेका छन् । ‘कुसे औँसीमा बजारमा पाइने खाने कुरा तथा उपहार बोकेर बुवालाई भेट्न सकभर नजानुहोला,’ उनी भन्छन्, ‘हामी संक्रमित हुनसक्छौं । हामीलाई संक्रमणले असर नगरे पनि बुवाआमा जेष्ठ नागरिक हुनुहुन्छ । उहाँहरुमध्ये धेरैजना औषधिसेवी हुनुहुन्छ । संक्रमण सर्यो भने उहाँहरुलाई जोखिम हुनसक्छ ।’
के लेखेका छन् पाण्डेले फेसबुकमा ?
तीज र कुशे औंशीले संक्रमण बढाउन सक्छ –
अहिले हामी कोरोना संक्रमणको महामारीमा छौं । हाम्रो ठाउँमा पनि संक्रमित धेरै छन् । को संक्रमित हो तथा को होइन भनेर परीक्षण नगरि थाहा हुँदैन । तसर्थ यसपटकको तीजमा दिदीबहिनी जम्मा हुने, नाचगान गर्ने तथा दर खाने गतिबिधि नगर्नुहुन हार्दिक अनुरोध गर्दछु । त्यस्तै दर खाने नाममा अपच हुनेगरि गरिष्ठ भोजन सेवन गरेमा अम्लपित्त बढेर तथा झाडावान्ता भएर अस्पताल जानुपर्यो भने अर्को जोखिम हुनेछ । हल्का र सधैझैँ सामान्य खाना खाने गरौँ । दरले डर हुन्छ । घरभित्र बसेर गीत गाउँदा कुनै व्यक्ति संक्रमित छ भने उसले सबैजनालाई संक्रमण सार्न सक्छ । यसपटक टेलिभिजन तथा रेडियोमा तीज सुनौं र हेरौं ।
त्यस्तै कुशे औंशीमा बजारमा पाइने खाने कुरा तथा उपहार बोकेर बुवालाई भेट्न सकभर नजानुहोला । हामी संक्रमित हुनसक्छौं । हामीलाई संक्रमणले असर नगरेपनि बुवाआमा जेष्ठ नागरिक हुनुहुन्छ । उहाँहरुमध्ये धेरै जना औषधिसेवी हुनुहुन्छ । संक्रमण सर्यो भने उहाँहरुलाई जोखिम हुनसक्छ ।
यसपटक १ जना पाहुनालाई समेत घरमा बोलाउने काम नगरौं, आफु पनि पाहुना भएर कतै नजाऔं । महामारीबाट मुक्ति मिलेपछि हरेक दिन चाडपर्व हुनेछन् । दिदीबहिनी वा चेलीबेटीलाई नबोलाए उनीहरुले के भन्छन् होला, बुवाआमालाई नभेट्दा उहाँहरुले के सोंच्नुहोला भनेर हामीले नसोचौं । महामारीको समयमा पाहुना नबोलाएमा वा आफुपनि नगएमा उहाँहरु खुसी हुनुहुनेछ ।
यसपटक फोन वा भर्चुवल माध्यमद्वारा शुभकामना तथा आशिर्बाद आदानप्रदान गरौँ ।