काठमाडौं । नेपाली कांग्रेसले कोभिड- १९ को खोप नेपालमा यथाशक्य छिटो भित्र्याउन र जनतालाई निःशुल्क उपलब्ध गराउने प्रबन्ध मिलाउन सरकारसँग dfu गरेको छ ।
कांग्रेस, सूचना, सञ्चार तथा प्रचार केन्द्रीय विभागले कोभिड–१९ को उपचार र रोकथामलाई पहिलो प्राथमिकतामा राखी व्यवस्थापन गर्न तथा विश्व बजारमा आइपुगेको खोप भित्र्याई निःशुल्क उपलब्ध गराउन आग्रह गरेको हो ।
विभागको बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले देशव्यापी रुपमा सञ्चालन गरिरहेको विरोध कार्यक्रममा सहभागिता बढाउनका लागि मिडिया तथा सूचना प्रविधिको अधिकतम उपयोग गर्ने निर्णयसमेत गरेको छ ।
बैठकले यसअघिको निर्णय अनुरुप पार्टीको परिमार्जित रूपमा सार्वजनिक गरिएको वेबसाइटलाई अझ परिष्कृत गर्दै लैजाने, पार्टीका आठै संसदीय दल, जिल्ला कार्यसमिति, भ्रातृ र शुभेच्छुक संस्था एवं विदेशस्थित नेपाली जनसम्पर्क समितिको वेबसाइट सञ्चालनका लागि निर्मित करीब डेढ सय ‘सब डोमेन’ को कार्यान्वयन प्रक्रियालाई आगामी माघ १५ गतेसम्म सार्थक गतिमा अघि बढाउने निर्णय गरेको छ ।
विभागले गत छ महिनायता हरेक मङ्गलबारदेखि शुक्रबारसम्म साँझ ७:१५ बजे पार्टीको फेसबुक पेजबाट नियमित लाइभमा जारी खुला अन्तर्क्रियाको कार्यक्रम ‘छहारी संवाद’ लाई निरन्तरता दिंदै स्रोता क्लब गठन गर्ने निर्णय गरेको सचिव दिनेश थापा मगरले जानकारी दिए ।
विभागले केही सदस्यको जिम्मेवारी हेरफेर तथा विभिन्न उपसमिति र कार्यदलसमेत गठन गरिएको छ ।