काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुले गरिरहेका भेलाहरु कुनै पनि प्रहसन, उखानटुक्का र उत्तेजित बनाउनका लागि नभएको बताएका छन् ।
काठमाडौंमा आफूनिकट जिल्ला कमिटीले काठमाडौंमा बुधबार आयोजना गरेको कार्यक्रममा प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यंग्य गर्दै यस्तो भनेका हुन् ।
उनले ओलीका कारण मुलुकमा गम्भीर संकट देखापरेको टिप्पणी गरे । त्यसका लागि लागि भेलाहरु गरिरहेको प्रचण्डको दाबी छ ।
‘हामी यहाँ कुनै प्रहसन गर्न, उखानटुक्का भन्न, उत्तेजित भाषण गर्न उपस्थित भएको होइन । मुलुक गम्भीर संकटमा परेको र त्यसको उद्धारका लागि आफूहरु भेला भएको हो,’ उनले भने ।
प्रचण्डले आधिकारिक नेकपा आँफै भएको दाबी गरे । उनले आफूहरु आधिकारिक भएकाले सूर्य चिह्न आफूहरूले नै पाउने दाबी गरे ।
त्यसो नभए आँधीहुरी आउने बताए । भेलालाई सम्बोधन गर्दै प्रचण्डले निर्वाचन आयोगले आफूसँग विधिबमोजिम हुने बताएकाले आफूहरु आधिकारिक हुने बताएका हुन् ।
अहिले गणतन्त्र एम्बुसमा परेको र त्यसको उद्धारका लागि आफूहरु एकढिक्का भएर लाग्ने बताएका छन् ।
प्रचण्डले ओली तानाशाह बन्ने बाटोमा रहेकाले अब उनीसँग कुनै अपेक्षा नरहेको पनि बताए ।