काठमाडौं । गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन शनिबारबाट सुरु भएको छ ।
भर्चुअल माध्यमबाट भोलिसम्म चल्ने सम्मेलनमा महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेश गर्ने तयारी गरिएको छ ।
साधारणसभाको उद्घाटन गर्दै परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले गैरआवासीय नेपालीहरुले कोरोना भाइरसको विश्वव्यापी संक्रमणमाझ निर्वाह गरेको भूमिका प्रशंसायोग्य रहेको बताए ।
मन्त्री ज्ञवालीले प्रवासमा संकटमा परेका नेपालीहरुको राहत, उद्धार र उपचारमा गैरआवासीय नेपालीको महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा प्रशंसा गर्दै भने, 'संकटको यस अहम परीक्षामा एनआरएनए खरो रुपमा उत्रिएको छ र सफल पनि भएको छ ।'
ज्ञवालीले संकटको बीचमा पनि विदेशमा रहेका नेपाली विज्ञहरुलाई नेपालमा जोड्ने प्रयत्न गरेको प्रति खुशी व्यक्त गरे ।
नेपालको संविधानले पहिलो पटक गैरआवासीय नेपालीहरुलाई औपचारिक रुपमा स्वीकार गर्दै एनआरएन नागरिकताको व्यवस्था गरेको स्मरण गर्दै मन्त्री ज्ञवालीले नेपाल सरकारको विदेश नीति अन्तर्गत विदेशमा रहेका नेपालीहरुको ज्ञान र सिपलाई नेपालको विकासमा जोड्ने नीति तय गरेको बताए ।
विशेष महाधिवेशनलाई सम्वोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले विदेशमा बसेर आफ्नो मिहेनत र पसिनाबाट कमाएको पूँजी नेपालको समृद्धि र विकासका लागि गैरआवासीय नेपालीले योगदान गरेको बताए ।