काठमाडौं । संघीय संसदका सांसदहरुलाई प्रदान गरिने नयाँ लोगोका सम्बन्धमा व्यापक आलोचना भइरहे पनि सांसदहरुलाई नयाँ लोगो प्रदान गरिएको छ ।
लोगोको डिजाइनलाई लिएर सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ । सरकारले लिम्पियाधुरा, लिपुलेकलगायतका क्षेत्र समेटेर नयाँ नक्सा सार्वजनिक गरेको थियो । सोही अनुसार प्रतिक चिन्हको पनि संशोधन भएको थियो ।
त्यसपछि उक्त प्रतीक चिह्नका आधारमा सांसदहरुलाई प्रदान गरिने लोगो निर्माण गरिएको हो । तर, निर्माणपछि सार्वजनिक भएको लोगोमा निर्माणका क्रममा त्यसको संवेदनशीलताप्रति ध्यान नदिइएको भन्दै व्यापक आलोचना भएको थियो ।
सामाजिक सञ्जालमा र कतिपय सांसदहरुले नै लोगो डिजाइनमा लापरबाही गरिएको टिप्पणी भइरहेपनि स्वदेशी उत्पादनलाई प्रबर्द्धन गर्न स्वीकार गरिएको सांसद शशी श्रेष्ठले बताइन् ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेकी सांसद श्रेष्ठले लोगोमा नेपालको नक्सालाई कलात्मक बनाउन सकिने भए पनि त्यसो हुन नसकेको बताइन् ।
संसदको लागो डिजाइन ८७ वर्षे टेकवीर मुखियाले गरेका हुन् । मुखियाले बनाएको लोगोको डिजाइन अनुसार लोगो निर्माण भएको देखिँदैन।
बागमती प्रदेशअन्तर्गतको घरेलु तथा साना उद्योग कार्यालय ललितपुरलाई लोगो निर्माणको अर्डर दिएको थियो ।
लोगो निर्माण हुँदा डिजाइनभन्दा केही भिन्नरुपमा तयार भएको पाइएको छ । सांसदहरुले भने लोगोमा रहेको नेपालको नक्सा स्पस्ट नभएको र कलात्मक बनाउन नसकेको बताएका छन् ।