काठमाडौं । जो बाइडनले विगत ५० वर्षको उनको राजनीतिक यात्राका क्रममा यही क्षणका निम्ति तयारी गरिरहेका थिए । तर आफू राष्ट्रपति बनेको पहिलो दिन नै यतिका धेरै चुनौती बेहोर्नुपर्ला भन्ने सम्भवतः उनले अनुमान गरेका थिएनन् ।
अमेरिकाको नयाँ राष्ट्रपतिका रूपमा उनका प्राथमिकता के होलान् त ?
उनले आगामी १० दिन शृङ्खलाबद्ध ढङ्गले कार्यकारी आदेश जारी गर्नेछन् ।
यस्ता आदेश कार्यान्वयनका निम्ति संसदको अनुमति आवश्यक हुँदैन ।
प्राथमिकता सूचीको सबभन्दा माथि ट्रम्पले लगाएका विवादास्पद यात्रा प्रतिबन्ध उल्ट्याउने अनि प्यारिस जलवायु सम्झौतामा फर्कने विषय रहेका छन् ।
उनको ध्यान तान्ने प्रमुख अन्य विषय यस प्रकार रहनेछन् ।
कोरोना भाइरस महामारीले अमेरिकामा चार लाख मानिसको ज्यान लिइसकेको छ । यसले पारेका चौतर्फी प्रभावसँग जुझ्नु नयाँ प्रशासनको मुख्य प्राथमिकता रहनेछ ।
उनको पहिलो निर्णय देशभरिका सङ्घीय परिसरहरूमा अनि अन्तर राज्य यात्राहरूमा मास्क अनिवार्य गराउने विषयमा हुनेछ ।
तर यो आदेशपछि पनि विगतमा मास्क अनिवार्य गर्न अनकनाएका विभिन्न राज्यका गभर्नरहरूले उनको भनाइ पछ्याउने निश्चित छैन । किनकि अमेरिकामा राष्ट्रपतिलाई राज्यहरूमा यस्ता आदेश लागु गराउने शक्ति प्राप्त छैन ।
बाइडनले यसलाई स्वीकार्दै गभर्नरहरूलाई सम्झाउने कोसिस गर्ने बताएका छन् ।
गभर्नरहरूले नमाने नगरप्रमुख तथा स्थानीय अधिकारीहरूसँग कुरा गर्ने उनको योजना छ । राष्ट्रपति बाइडन द्रुत गतिमा मानिसहरूलाई खोप लगाइदिन चाहन्छन् ।