प्रधानमन्त्री केपी ओलीले आफ्नो कार्यकालमा इतिहासमै सबैभन्दा बढी विकास भएको दाबी गरेका छन् ।
शुक्रबार नारायणहिटीमा आयोजित आफ्नो समूहद्वारा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
‘अहिलेजस्तो विकास कहिल्यै भएको थियो ?,’ ओलीले भने, ‘अहिलेजस्तो काठमाडौं पहिले थियो ?’
सम्बोधनको क्रममा ओलीले मुलुक सुरुङ मार्गमा प्रवेश गरिसकेको बताउँदै एक घण्टामा केरुङ–काठमाडौं गराइने बताए ।
उनले टोखा–छहरे र बेत्रावती–स्याप्रुबेसी सुरुङमार्ग निर्माणको योजना अघि बढिसकेको बताउँदै अब छिट्टै काठमाडौं–केरुङ द्रुतमार्ग बन्ने बताए ।
त्यस्तै, नौबिसे–नागदुंगा सुरुङ मार्ग अघि बढिसकेको बताउँदै अन्य विकास निर्माणका कामहरुमा समेत तिब्र गतिमा सरकारले अघि बढाएको बताए ।
उनले प्रचण्डको मांसहारी आन्दोलनतर्फ संकेत गर्दै भने, ‘शाकाहारी आन्दोलनले हुँदैन भनेको, चिकन चिल्ली खाने भनेको हो ? उहाँहरुले नरभक्षी आन्दोलन गर्न खोजेको हो । नरभंक्षी आन्दोलनका दिन गए । अब नेपालमा कसैले हिंसा मच्चाउन सक्दैन ।’
वर्तमान, इतिहास र देश बनाउने संकल्प बोकेकाले आफूले नेतृत्व गरेको पार्टी नै मूल भएको र आजबाट यसको फैसला भएको ओलीको भनाइ थियो ।