सभामुख अग्निप्रसाद सापकोटाले हालै गरिएका संवैधानिक नियुक्तिहरूविरुद्ध सर्वोच्च अदालतमा राष्ट्रपति कार्यालय तथा अन्य ३८ जनालाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।
सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले सभामुखले राष्ट्रपति कार्यालय, प्रधानमन्त्रीलगायत ३९ लाई विपक्षी बनाएको जानकारी दिए ।
न्यौपानेका अनुसार अदालतले आइतबारका लागि पेसी तोकेको छ।
सभामुखले प्रधानमन्त्री केपी शर्मा ओली तथा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित संवैधानिक निकायमा नियुक्ति लिएका सबै जनालाई कानुनी चुनौती दिएका छन् ।
सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय महिला आयोगसहित विभिन्न निकायमा तीन दर्जनभन्दा बढी सिफारिस गरेको थियो ।
तीमध्ये ३२ जनाले गत बुधवार राष्ट्रपति कार्यालयमा शपथ लिएका थिए । शपथग्रहण समारोहमा सभामुख सापकोटा र उपराष्ट्रपति नन्दकिशोर पुन अनुपस्थित रहेका थिए ।
त्यसअघि सभामुख सापकोटाले संवैधानिक परिषद्द्वारा विभिन्न आयोगमा सिफारिस गरेका नामहरू सिफारिस भएको ४३ औँ दिनमा फिर्ता पठाइदिएका थिए ।
संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोगसहित विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि नाम सिफारिस गरेको थियो ।
ती नाम संसदीय सुनुवाइको निम्ति संसद्मा पठाइएको थियो ।