नेपाली कांग्रेसले बुधबारका लागि केन्द्रीय कार्यसमिती बैठक बोलाएको छ । पार्टी मुख्यालय सानेपामा कांग्रेस कार्यसमितिको बैठक बोलाइएको छ ।
फागुन ७ गतेदेखि गर्ने भनिएको नेपाली कांग्रेसको महाधिवेशन नहुने पक्कापक्की भइसकेको छ । जसका कारण कांग्रेस बैठकमा विधानबमोजिम अवधि थप गर्ने प्रस्ताव जानेछ ।
कांग्रेसले यही भदौभित्र महाधिवेशन गरिसक्नेगरी कार्यतालिका बनाउने अपेक्षा छ । नेपाली कांग्रेसको विधानअनुसार ४ वर्षमा महाधिवेशन हुनुपर्छ । विशेष परिस्थितिका कारण हुन नसके ६ महिनासम्म थप गर्न सकिने व्यवस्था पनि छ ।
विविध कारणले समयमै महाधिवेशन गर्न नसकिएको भन्दै कांग्रेसले गत वर्षको पुसमा १ वर्ष अवधि थप गरेको थियो । जसअनुसार यही फागुनमा महाधिवेशन हुनुपर्ने थियो । तर, त्यो पनि सम्भव हुन सकेन ।
नेपाली कांग्रेसको संस्थापन पक्षले कोरोना भाइरसको महामारी र त्यसका कारण भएको लकडाउनका कारण पाँच महिनामा महाधिवेशन गर्न नसकिएको बताउँदै आएको छ ।
कांग्रेसलाई अब पार्टीको विधान मात्र नभइ संविधानमा भएको व्यवस्थाले पनि समस्यामा पार्ने देखिएको छ । संविधानको धारा २६९ को उपधारा ४ख मा अब कांग्रेसले ६ महिना समय लिन सक्छ ।
सो धारामा राजनीतिक दलले ५÷५ वर्षमा महाधिवेशन गर्नुपर्ने व्यवस्था गरेको छ । कारणवस त्यसो गर्न नसके थप ६ महिना अवधि लिन सकिने व्यवस्था छ ।
आगामी भदौभित्र पनि महाधिवेशन गर्न नसके नेपाली कांग्रेस वैधानिक संकटमा पर्ने देखिएको छ ।
त्यसो त प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरिदिएपछि राजनीतिक तरल बनिरहेको बेला कांग्रेसलाई महाधिवेशन गर्नैपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ ।