बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका– ७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेका भनिएका आरोपितले बयान फेरेका छन् ।
सरकारी वकिलको कार्यालयमा लिइएको बयानमा आरोपित १६ वर्षिय किशोरले बलात्कारपछि हत्या गरेको स्वीकारेका उनका बुुवाले जानकारी दिए ।
प्रहरीले बुधबार सार्वजनिक गरेको ती किशोरले यसअघि आफूले हत्या मात्रै गरेको बताउँदै आएका थिए ।तर, सरकारी वकिलको कार्यालयमा उनका बुबा, प्रहरी अनुसन्धान अधिकृत, सरकारी वकिलसहित रहेको टोलीले संयुक्त रूपमा लिएको बयानमा भने उनले बयान फेरी बलात्कारपछि हत्या गरेको स्वीकारेका हुन् ।
बयानका क्रममा उनले घटनास्थलमै भागरथीको घडी पनि रहेको बताएका थिए ।
उनले भनेकै आधारमा प्रहरीले घटनास्थलमा खोज्दै जाँदा घडी पनि फेला पारेको थियो । उनका बाबुले भने, ‘पुरानो घरायसी रिसइबी र विद्यालयको हाफ टाइममा जिस्क्याएको भनेर भनेको छ ।’
लवलेक जङ्गलमा पुगेपछि पहिला सडकबाट धकेलेर भीरमा लडाएको त्यसपछि बेहोस अवस्थामा बलात्कार गरेको र पछि घाँटी निमोठेर हत्या गरेको समेत ती किशोरले बयान दिएका छन् ।
गत २१ माघमा विद्यालयबाट घर फर्किएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा २२ माघमा स्थानीय लबलेक जंगलमा बीभत्स र निर्वस्त्र अवस्थामा फेला परेकी थिइन् ।
त्यसपछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान सुरु गरेको थियो । भागरथीको शव परीक्षण रिपोर्टमा भने बलात्कारपछि हत्या गरिएको भन्ने उल्लेख गरिएको छ ।
बुधबार नै मृतक भागरथीका दाजु शङ्कर भट्टले आरोपित किशोरविरुद्ध कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसुरमा कारबाहीका लागि जाहेरी दर्ता गरेका थिए । जिल्ला अदालत बैतडीले पाँच दिन म्याद थप गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।