मौलापुर नगरपालिकाले शिवरात्रिको अवसरमा आयोजना गर्न लागेको 'मधानी महायज्ञ विशेष समारोह २०७७' भव्यताका साथ सफल पार्न मेयर रीना कुमारी साहले आह्वान गरेकी छन्।
हजारौँ वर्ष पुरानो इतिहास बोकेको पतौरा पुरातात्विक मन्दिरको प्राङगणमा आयोजा हुन लागेको महायज्ञ धार्मिक पर्यटन प्रवर्द्धनका लागि एक महत्वपूर्ण कार्यक्रम रहेकोले यसलाई सफल पार्न मेयर साहले सबैमा आग्रह गरेकी हुन्।
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मौलापुर नगरपालिकाले फागुन २७ गते पुरातात्त्विक महादेव मन्दिर प्राङ्गणमा आयोजना गर्न लागेको उक्त समारोहमा पूजा अनुष्ठान, मेला तथा चर्चित नेपाली तथा भारतीय कलाकारहरुको सांस्कृतिक प्रस्तुतिसमेत रहने छ।
ऐतिहासिक,धार्मिक तथा सांस्कृतिक महत्व झल्किने किसिमले आयोजना हुने महायज्ञ समारोह अवसरमा मन्दिरमा स्थानीय तथा विशेष विधिहरुबाट भगवान् शिवको पूजा अनुष्ठान गरिने आयोजक मौलापुर नगरपालिकाले जनाएको छ।
फागुन २६ गतेबाट नै मेलाको शुभारम्भ गरिने भए पनि मुल पूजा फागुन २७ गते शिवरात्रीको दिन हुनेछ। सोही दिन उपप्रधानमन्त्री ईश्वर पोखरेल तथा प्रदेश नम्बर २ का प्रदेश प्रमुख डा राजेश झाले कार्यक्रम उद्घाटन गर्ने र दिउँसो ११ बजेदेखि भोजपुरी सुपरस्टार अभिनेत्री अक्षरा सिंह तथा अभिनेता प्रदीप पाण्डे 'चिन्टुुलगायत लोकप्रिय नेपाली एवम् भारतीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहने बताइएको छ।
साथै फागुन २६ गतेदेखि लगातार ६ दिनसम्म रात्रि भारत वृन्दावनको मथुराको कलाकारद्वारा प्रसिद्ध रासलिला (शिवलिला) प्रदर्शन हुने जानकारी आयोजकले दिएको छ। आयोजकका अनुसार फागुन २८ गते भने नेपाल तथा भारतका चर्चित कुस्ती खेलाडीहरुको सहभागितामा कुस्ती प्रतियोगिता आयोजना हुनेछ।
गत वर्ष पनि फागुनमा पुरातात्त्विक महादेव मन्दिरको प्राङ्गणमा मधानी महायज्ञको आयोजना गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथिसमेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरको मुल भट्टद्वारा मन्त्रोच्चारण गराई उक्त मन्दिरमा विशेष पूजा गरेकी थिइन्।
भोजपुरी सिनेमा जगतका सुपरस्टार अभिनेता दिनेशलाल यादव निरहुआ तथा अभिनेत्री आम्रपाली दुबे, नेपाली सुपस्टार निखिल उप्रेती, अभिनेत्री केकी अधिकारीलगायत दर्जनौं कलाकारहरुले सांस्कृतिक प्रस्तुति गर्दा दुई लाखभन्दा बढी दर्शकको उपस्तिथि रहेको थियो।
मेला आयोजना हुन लागेको पुरातात्त्विक महादेव मन्दिर १२०० वर्ष पुरानो रहेको पुरातात्त्विक उत्खननबाट देखिएको थियो। सो मन्दिर पर्यटकहरुका लागि एउटा महत्वपूर्ण गन्तव्य बनाउन मौलापुर नगरपालिकाले मन्दिरको संरक्षण एवम् प्रचारको कार्य गर्दै आएको हो।
देशको थप नयाँ सय वटा पर्यटकीय गन्तव्यमा समेत उक्त मन्दिर छनोट भएको हो।