मंगलबार सिंहदरबारस्थित पार्टीको संसदील दलको कार्यालयमा नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक बस्यो ।
सो बैठकले नेकपा (एमाले) र माओवादी केन्द्र ब्युँताउँने सर्वाेच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनमा जाने निर्णय गरेको छ । तर, सरकारलाई दिइएको समर्थन फिर्ता गर्ने या कायमै राख्ने भन्ने सम्बन्धमा सो बैठकले निर्णय गरेन ।
यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटक–पटक केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार ढाल्ने बताउँदै आएका थिए । तर, अहिले माओवादी केन्द्र त्यस विषयमा अनिर्णीत देखिएको छ ।
तर, माओवादी केन्द्रका नेता देव गुरुङ ओलीले नैतिकताको राजीनामा दिनुपर्ने बताउँछन् ।
उता ओली पनि आफूविरुद्ध अविश्वास प्रस्ताव आउने या माओवादी केन्द्रले समर्थन फिर्ता नलिनेमा ढुक्क देखिन्छन् । सोही संकेत देखिएको थियो एमाले संसदीय दलको बैठकमा । ओलीले संसदीय दलको बैठकमा आफूविरुद्ध तत्काल अविश्वास प्रस्ताव नआउँने बताएका थिए ।
त्यतिमात्र होइन अविश्वास प्रस्ताव दर्ता भए त्यसको सामना गर्ने ओलीले बताउँदै आएका छन् ।
संसदीय अंकगणित
ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन या विश्वासको मत फिर्ता लिनका लागि सर्वप्रथम बहुमत आफ्नो पक्षमा पार्ने रणनीतिमा माओवादी केन्द्र देखिएको छ । त्यसका लागि उसलाई नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको साथ चाहिन्छ ।
तर, त्यसका लागि कांग्रेस, माओवादी र जसपा एक ठाउँमा उभिएका छैनन् । नेपाली कांग्रेस र जसपाले यो सरकार ढाल्न माओवादीलाई साथ दिन्छन् भन्ने कुरामा अझै पनि संसय कायमै छ ।
साथसाथै नेपाली कांग्रेस र जसपाभित्र पनि ओलीको विकल्प खोज्नेमा एकमत भइसकेको देखिँदैन । कांग्रेसमा सभापति शेरबहादुर देउवाले यस विषयमा स्पष्ट धारणा सार्वजनिक गरिसकेका छैन् । जसका कारण कांग्रेस यसबारेमा अनिर्णीत छ । तर, रामचन्द्र पौडेललगायतका नेताहरु ओलीको विकल्प खोज्नुपर्नेमा मुखर भएका छन् ।
उता जनता समाजवादी पार्टीमा पनि यो विषयमा एकमत देखिँदैन । जसपामा पूर्व संघीय समाजवादी फोरमका नेताहरु डा. बाबुराम भट्टराई, उपेन्द्र यादवलगायतका नेताहरु ओलीको विकल्प खोज्नुपर्ने पक्षमा छन् भने पूर्वराजपाका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका नेताहरुले यस विषयमा प्रष्ट धारणा ल्याइसकेका छैनन् ।
यी कारणले माओवादी केन्द्रले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने या सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्बन्धमा माओवादी केन्द्रले निर्णय गर्न सकेको छैन ।