- शान्ता चौधरी
हो कमरेड !
म कमलरी थिएँ l जमिन्दारको घरमा भाँडा माझेर १८ वर्ष बिताएको थिएँ । यस बारे मैले धेरै बताई रहन पर्दैन तर म बिगतमा जति अपमानित भएँ, हेपिएँ सायद मुक्त भए पछि कहिल्यै अपमानित हुन पर्दैन, यही सोच्ने गर्थेँ ।
तर, आज पनि मैले बोल्ने बित्तिकै तँ कमलरी होस नबोल, मैले लेख्ने बित्तिकै तँ कमलरी होस नलेख भन्ने आसयबाट प्रतिक्रिया आउन थाल्छ ।
त्यसैले कहिलेकाहीँ मान्छेका मस्तिष्कमा अनि मनमा गढेको सामन्तवाद जिँउदै रहेछ जस्तो लाग्छ ।
शोषणको दनदनी दन्किएको आगोमा जल्दाको पीडा कस्तो हुन्छ भन्ने अनुभुति गरेकाले होला यस्ता अभिव्यक्तिले मलाई ग्लानी होइन उर्जा थपेको हुन्छ ।
कमरेडहरु,
मैले कमरेड माधव नेपालको अपमान कहिले गरेँ ? एकपटक बताइदिनुहोस् न कमरेड !
मलाई संविधानसभाको सदस्य बनाउन उहाँले गरेको योगदानको तिरस्कार मैले कहिले गरेँ ? भनिदिनुहोस न कमरेड !
मेरो नेतालाई मैले अनुरोध गर्न पाउँछु कि पाउँदिन ? मैले धेरै जानेको छु, मार्क्सवादको ज्ञाता हो भन्ने म जस्तो सिकारुले कुनै दम्भ, घमण्ड गर्नु छैन र कहिल्यै गरेको पनि छैन । तर, यत्ति हेक्का गर्दा हुन्छ कमरेड, आफूले जन्माएका आफ्ना सन्तान साना बालबालिकाका कुरा पनि बुवा आमाका निम्ति ज्ञानवर्धक हुन सक्छन् ।
मलाई राजनीतिक मैदानमा ल्याएर अँखा खोलिदिने आदरणीय नेताको इतिहास सुनौलो देख्न चाहन्छु म । लामो समयसम्मको त्याग बलिदान र समर्पणको इतिहास मेटाउँदै राजनीतिक जीवनको उत्तरार्धमा आइपुग्दा उहाँबाट कुनै गल्ती नगरे हुन्थ्यो भन्ने चाहन्छु म । नेकपा हुँदा त्यो विशाल पार्टीको महाधिवेशनबाट एक पटक अध्यक्ष बनाउने प्रगाढ इच्छा थियो । म र म जस्ता कयौँ शुभचिन्तकको लाख बिन्ती सुन्न सक्नु भएमा त्यसमा दु:ख लाग्छ मलाई ।
आज पनि पार्टी निर्माणको नेतृत्व गर्ने बाटो हिड्नुहोस तर ध्वंशको होइन, एउटा श्रद्धा गरेको मेरो नेतालाई, आदरणीय मानेको मेरो नेतालाई लेखेर भन्छु, बोलेर भन्छु, चिच्याएर भन्छु ।
फेसबुकबाट ।