काठमाडौं । न्युजिल्यान्ड कोरोना भाइरसको महामारीबाट जोगिन सफल रहेको भनेर त्यहाँको राजनीतिक नेतृत्वको प्रशंसा भयो । विश्वभर कोरोना भाइरसको त्रास बढीरहेको बेला न्युजिल्यान्ड भने यसको व्यवस्थापन र नियन्त्रणमा सफल रह्यो ।
यद्यपी कोरोना भाइरसको महामारीबाट अर्थतन्त्रलाईं जोगाउने सवालमा भने न्युजिल्यान्ड पनि सफल हुन नसकेको
रिपोर्टहरु प्रकाशित भएका छन् । न्युजिल्यान्डले कोरोना भाइरसबाट बँच्नका लागि लगाएको बन्देजका कारण त्यहाँको अर्थतन्त्र दशकौं यताको खराब अवस्थामा पुगेको बताइएको छ ।
एक तथ्यांक अनुसार अप्रिलदेखि जुन सम्मको अवधिमा न्युजिल्यान्डको कुल गार्हस्थ उत्पादन (जिडिपी) १२.२ प्रतिशतले घटेको देखिएको छ । यो ४ दशक यताकै खराब अवस्था हो ।
उता कोरोना भाइरसको नियन्त्रणमा सफलता पाएकाले न्युजिल्यान्डको अर्थतन्त्र छिटै लयमा फर्कने अपेक्षा गरिएको छ ।
कोरोना भाइरसको संक्रमण रोक्न सरकारले उठाएको कदमका कारण त्यहाँ केही समयका लागि कोरोनामुक्त भएको थियो । यद्यपी अहिले भने स्थिति अली फरक छ । त्यहाँ अहिले केही संक्रमितहरु देखिएका छन् ।
तर, यो स्थिति बाँकी विश्वको भन्दा राम्रो अवस्थामा छ । किनकी विश्वका प्रायः देशहरुको अवस्था झनै खराब छ र यसले ति देशहरुको अर्थतन्त्रलाई अझ धेरै प्रभावित बनाएको छ ।
अर्थतन्त्र खराब अवस्थाबाट गुज्रिएको भए पनि प्रधानमन्त्री जेसिन्डा अर्डार्नको प्रशासन कोरोनाको महामारी नियन्त्रणमा सफलता हासिल गरेकाले अर्थतन्त्रलाई लयमा फर्काउन पनि सकिन्छ भन्नेमा आशावादी देखिन्छ ।
उता अर्थविद्हरुले पनि न्युजिल्यान्डको अर्थतन्त्रमा छिटै नै सुधार आउनेमा आशावादी रहेको
बिबिसीले रिपोर्ट प्रकाशित गरेको छ ।
न्युजिल्यान्डका अर्थमन्त्री ग्र्यान्ट रोबर्टसनलाई उधृत गर्दै बिबिसीले लेखेको छ, ‘चाँडै र कडा उपाय अपनाएका थियौँ। अब हाम्रो सुधार पनि तीव्र र बलियो हुनेछ ।’