काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उनकी पत्नी मेलानीय ट्रम्पलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएसँगै विश्वभरका नेताहरूले ट्रम्प दम्पतिलाई शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । कोरोनाबाट बँच्नका लागि मास्क लगाउन अस्वीकार गर्दै आएका ट्रम्पले आफू संक्रमित भएको जानकारी भने 'सहज' रूपमा दिएका थिए ।
तर, निर्वाचनको केही समय पहिले मात्र संक्रमणको चपेटामा आएका ट्रम्पले यसलाई 'हल्का' रूपमा भने लिने छैनन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पत्नी मेलानियाको तुलनामा ट्रम्पलाई तीनवटा कारणले अली अप्ठेरो हुने विश्लेषण प्रकाशित गरेका छन् ।
पहिलो उमेर बढी हुनु (७४ वर्ष), दोस्रो तौल बढी हुनु र तेस्रो पुरूष हुनु यी तीन कुराले ट्रम्पलाई भन्दा मेलानियालाई कोरोना जित्न अली बढी सहज छ ।
समाचारमा जनाइएअनुसार ६ फिट ३ इन्च अग्ला ट्रम्पको तौल १ सय १० केजी छ ।
विशेषज्ञहरूका अनुसार यी यस्ता तीन चिज हुन्, जसले संक्रमितहरूलाई 'हाइ रिस्क' हुने गर्दछ ।
ट्रम्प मेलानियाभन्दा २४ वर्ष जेठा छन् । यद्यपी यस उमेरका कतिपयमा भने हल्का या मध्यम स्तरको मात्र लक्षण देखिने विशेषज्ञहरूले जनाएका छन् ।
तर, विशेषज्ञहरूले अहिलेसम्म यसबारेमा यकिनका साथ भन्न सकिरहेका छैनन् कि किन कसैलाई गम्भीर र कसैलाई सामान्य प्रकृतिको लक्षण देखा पर्दछ ?
यद्यपी विश्वको सबैभन्दा शक्तिशाली व्यक्ति भएका कारण उपलब्ध उन्नत प्रविधि, विशेषज्ञ चिकित्सकीय सेवा ट्रम्पका लागि २४ सै घण्टा उपलब्ध हुनसक्छ । अर्कातर्फ केही अन्तर्राष्ट्रिय मिडियाले जनाए अनुसार ट्रम्प मुटु, मिर्गौला या अन्य प्रकृतिका रोगग्रसित छैनन् ।
उनी धुम्रपान तथा मध्यपान पनि गर्दैनन् । यसले भने उनलाई कोरोना पराजित गर्न सहयोग पुर्याउँछ ।