पूर्वीय संस्कृतिमा आचार्य चाणक्यलाई आदरका साथ हेरिन्छ । उनको नीतिलाई धेरैले अनुसरण गर्ने गरेका छन् । लामो समयपछि पनि चाणक्यका नीति अहिले पनि उत्तिकै लोकप्रीय छन्, उत्तिकै प्रभावकारी छन् ।
भनिन्छ चाणक्यले आफ्नो तीक्ष्ण बुद्धिका कारण जस्तै कठिन परिस्थितिमा पनि उपयोगी नीति अवलम्बन गर्न सक्दथे । उनको समयमा चाणक्यका नीतिहरू निकै सटिक पनि मानिन्थे भन्ने अनुमान गर्न सकिन्छ । यद्यपि, अहिले पनि उनका नीतिहरू निकै लोकप्रीय नै छन् ।
राजनीतिदेखि लिएर समाजसम्म हरेक वर्गका बारेमा चाणक्यले आफ्नो नीति प्रस्तुत गरेका छन् । उनले जीवन, मित्र, जीवन साथी, सत्रु, छिमेकी, धन, आमाबाबुलगायतका विषयमा आफ्नो धारणा प्रस्तुत गरेको पाइन्छ । उनका ती थुप्रै विचारहरू आजका लागि पनि उत्तिकै अनुकरणीय रहेको कतिपयको भनाइ छ ।
आज यहाँ सफल जीवनका लागि चाणक्यले सुझाएका १० नीतिको बारेमा उल्लेख गर्दैछौँ । ती नीतिहरूले तपाईंलाई सफल बनाउन मद्दत गर्ने विश्वास छ ।
१. रिसमा नियन्त्रण राख्नु
त्यसो त हरेक मानिसलाई कुनै न कुनै समयमा रिस उठ्छ । तर, सफल हुन चाहनुहुन्छ भने तपाईंले आफ्नो रिसलाई नियन्त्रण गर्नु आवश्यक छ । क्रोधका कारण तपाईंको काम बिग्रन सक्छ । त्यसैले क्रोधलाई नियन्त्रणमा लिनु आवश्यक छ ।
क्रोधका कारण सम्बन्धमा दरार आउँछ भने अत्यधिक क्रोधका कारण तपाईं संकटमा पनि पर्न सक्नुहुन्छ । क्रोधका कारण तपाईंको कसैसँग अनावश्यक विवाद हुन पनि सक्छ । यसका साथै रिसले शरीरलाई पनि नकारात्मक असर पार्ने पनि देखिन्छ ।
रिस उठ्नु या क्रोध आउनुका अनेक कारण हुन सक्छन् । तर, मुख्य रूपमा तपाईंको इच्छाविपरीत कुनै काम हुन्छ भने तपाईंलाई रिस उठ्छ । कहिलेकाहिँ कसैले बिनाकारण तपाईंलाई हैरान बनाउँछ, त्यस्तो बेला पनि तपाईंलाई रिस उठ्छ । यी र यस्ता परिस्थितिमा रिसलाई नियन्त्रण गर्न सक्नुभयो र शान्तपूर्वक निर्णय लिन सक्नुभयो भने तपाईंको सफलताका लागि त्यसले मद्दत गर्छ ।
२. अनुशासनमा रहनु
चाणक्यले आफ्नो नीतिमा अनुशासनलाई निकै महत्त्व दिँदै आएका छन् । वास्तवमा अनुशासनले जीवनलाई सफल र सरल बनाउन मद्दत गर्छ । तपाईं अनुशासनमा बस्नुभयो भने तपाईंको व्यक्तित्वको बेग्लै छवि बन्छ ।
अनुशासनबिना सफलता कल्पना पनि गर्न सकिँदैन । तपाईंको अनुशासित व्यक्तित्वले अरु थुप्रै व्यक्तिलाई प्रभावित बनाउँछ । त्यस्तै अनुशासनले नै तपाईंलाई समयको महत्त्व बुझाउँछ ।
भनिन्छ अनुशासित व्यक्तिको जीवनमा कठिनाइ पनि निकै कम आउँछन् । अनुशासित हुनका लागि तपाईंले तपाईंको मनलाई शान्त राख्नु आवश्यक छ । कुनै पनि परिस्थितिमा विचलित नभइ सही निर्णय लिनका लागि अनुशासनले तपाईंलाई सघाउँछ । त्यसैले सफल जीवनका लागि अनुशासनको एकदमै ठूलो महत्त्व छ ।
३. अल्छिपना त्यागिदिनु
आलस्यले जीवन बर्बाद पारिदिन सक्छ । यदि समयमै तपाईं आफ्नो काम गर्नु हुन्न र अल्छी गर्नुहुन्छ भने समयले तपाईंलाई पर्खिँदंन । जसका कारण तपाईं समस्याले घेरिन सक्नुहुन्छ ।
त्यसैले सफल जीवनका लागि अल्छी त्याग्नु जरुरी छ । यदि अल्छीपना त्याग्न सक्नुभएन भने तपाईंका साथीले तपाईंको साथ छाडिदिन्छन् । आलस्यका कारण विभिन्न प्रकारका समस्याहरू पनि देखा पर्छन् । त्यसैले सफलता चाहनुहुन्छ भने अल्छि त्याग्नु जरुरी छ ।
४. धोका नदिनु
जीवनमा कसैलाई पनि धोका दिनु सही हुँदै होइन । तपाईंलाई कसैले धोका दिँदा जस्तो लाग्छ तपाईंले अरुलाई धोका दिँदा पनि अरुलाई त्यस्तै लाग्छ । त्यसैले कसैलाई पनि धोका दिनु हुँदैन ।
धोका दिने व्यक्तिको छवि राम्रो हुँदैन । धोका दिनेहरूलाई कसैले पनि विश्वास गर्दैनन् । जसका कारण सफलता पाउन मुस्किल हुन्छ । सफल बन्न चाहनेहरूले अरुको पनि विश्वास जित्न जरुरी छ ।
५. घमण्ड त्याग्नुस्
जीवनमा सफलताका लागि घमण्ड त्याग्नु पनि एकदमै आवश्यक छ । घमण्ड गर्ने मानिसलाई कसैले पनि मन पराउँदैनन् । अहंकारीसँग कसैले पनि संगत गर्न चाहँदैनन् । जसका कारण एक्लो महसुस गर्नुपर्ने बाध्यता आइलाग्छ ।
अहंकारले सफल जीवनको अन्त्य गरिदिन्छ । अहंकार गर्ने व्यक्तिको सफलता दिगो हुँदैन भन्ने मान्यता पाइन्छ । त्यसैले सफल जीवनका लागि अहंकार त्याग्नु आवश्यक छ ।
६. अनावश्यक लोभ पनि नगर्नु
अत्यधिक लोभले जीवनमा असन्तुलन पैदा गरिदिन्छ । जसका कारण तपाईंको जीवनमा हैरानी सिर्जना हुन्छ । आफूले प्राप्त गरेको सफलतामा सन्तुष्ट हुनुस् र थप प्रगतिका लागि प्रयास गर्नुस् । तर, अत्यधिक लोभमा फस्ने काम नगर्नुस् ।
७. शिक्षालाई उच्च महत्त्व दिनुस्
सफल जीवनका लागि शिक्षा आर्जन एकदमै महत्त्वपूर्ण कुरा हो । शिक्षाले कसैलाई पनि बुद्धिमान बनाउँछ । जसका कारण कुनै पनि व्यक्ति आफ्नो जीवनलाई सफल बनाउन सक्षम हुन्छ ।
यदि तपाईं शिक्षित हुनुहुन्छ भने तपाईंलाई समस्याबाट निक्लन पनि सहज हुन्छ । शिक्षित हुनुहुन्छ भने समाजमा तपाईंले सम्मान प्राप्त गर्न पनि सक्नुहुन्छ । त्यसैले सफल जीवनका लागि शिक्षालाई उच्च महत्त्व दिन आवश्यक छ ।
८. अर्काको गल्तीबाट पनि सिक्नुस्
चाणक्यका अनुसार हामीले अर्काले गरेको गल्तिबाट पनि सिक्न जरुरी छ । सबै आफ्नै गल्तिबाट मात्र सिकेर पुग्दैन । अर्काले गरेको गल्तीबाट पनि सिकेर आफूले त्यस्ता गल्ती नदोहोर्याउन मेहनत गर्नुपर्छ । अर्काको गल्तीबाट पनि सिक्ने प्रयास गर्दा आफूलाई हुने क्षतिबाट बचाउन सकिन्छ ।
९. असल साथी चयन गर्नुस्
हामीकहाँ एउटा उखान छ- संगत गुणाको फल । अर्थात् जस्तो साथी संगती भयो त्यस्तै व्यवहार र जीवनशैली हुन्छ । त्यसैले सफलताका लागि असल साथीको आवश्यकता पर्छ । असल र उच्च विचार भएको मित्रको सहयोगले तपाईंको जीवन सफल बनाउन मद्दत गर्छ । खराब साथीले जीवनलाई पनि गलत बाटोमा डोर्याउन सक्छ । त्यसैले सफल जीवनका लागि असल मित्र आवश्यक छ ।
१०. आफ्नो क्षमताको सही मूल्यांकन गर्नुस्
सफलताका लागि आफ्नो क्षमताको सही मूल्यांकन गर्नु आवश्यक छ । आफ्नो क्षमता र आफ्नो कमजोरीको जानकारी सबैभन्दा धेरै तपाईंलाई हुनु आवश्यक छ । यसो हुँदा लक्ष्य तय गर्न र त्यसलाई प्राप्त गर्न सहज हुन्छ । त्यसैले सफल जीवनका लागि आफ्नो क्षमताको सही मूल्याङ्कन गर्नु आवश्यक छ ।