कुनै समय एक राजा थिए । जसलाई आफ्ना जनतासँग केही न केही सिक्न पाउँदा आनन्द आउँथ्यो । उनलाई सिक्न लाज लाग्दैनथ्यो । फलस्वरुप ति राजा सानो उमेरमै ज्ञानी र अनुभवी बने ।
तिनै राजा एकदिन भेस बदलेर आफ्ना प्रजाको हालखबर जान्नका लागि राज्यको भ्रमणमा निस्किए ।
उनले खेतमा काम गरिरहेका एक वृद्धलाई देखे । राजा उनको नजिकै गए । तर जब उनले ती वृद्धलाई देखे तब उनी छक्क परे । किनकी उनको कपाल त पूरै फूलेको थियो तर, शरीरी पुरा स्वस्थ थियो ।
राजाले वृद्धलाई सोधे, ‘बाबा हजुर कति वर्षको हुनभयो ?’ कुनै अन्जान व्यक्तिले सोधेको देखेर उनले भने, ‘चार वर्ष ।’
उत्तर राजालाई अजिब लाग्यो र उनले फेरी सही उमेर बताउन आग्रह गरे । तर, ती वृद्धले फेरी आफ्नो उमेर चार वर्ष भएको जबाफ दिए ।
त्यसपछि राजालाई रिस उठ्यो र उनले ती व्यक्तिलाई आफ्नो वास्तविकता देखाएर सही उमेर पत्ता लगाउने राजाले सुर गरे । तर उनलाई गुरुको सम्झना आयो । गुरुले उनलाई रिसले ज्ञान प्राप्त गर्न सकिँदैन त्यसैले धैर्य गर्नुपर्छ भनेका थिए ।
राजाले फेरि विनम्र भएर सोधे ‘बाबा हजुरको कपाल पूरै फूलेको छ । लट्ठीको साहारामा हिड्नुहुन्छ । अनुहारमा मुजा आएको छ । त्यसैले कृपया आफ्नो सही उमेर बताउनुस् ।’
तब ती वृद्ध व्यक्तिले भने मेरो उमेर ८० वर्ष भयो । मैले जीवनभर धन कमाएँ र आफ्नो परिवारको पालनपोषण गरेँ । तर ४ वर्ष पहिले मलाई यस्तो लाग्यो कि यस्तो जीवन त कोही पशु पनि जिउन सक्छ । त्यसैले यो जीवनको कुनै महत्व छैन । त्यसपछि म भगवानको भक्तिमा लागेँ । अब म परोपकारमा लागेको छु । म दुःखी गरिबको सेवामा रमाएको छु । यसैकारण मैले मेरो उमेर ४ वर्ष भयो भनेको हुँ ।
वृद्धको कुरा सुनेपछि राजालाई पनि यस्तो लाग्यो कि उनले पनि जीवनमा कुनै महत्वपूर्ण काम गरेका छैनन् ।
त्यसपछि राजा पुरै परिवर्तन भए । उनले रिसलाई नियन्त्रण गर्न सिके र आफ्नो व्यक्तिगत हित होइन प्रजाको हितका लागि राज्यको ढुकुटीको उपयोग गर्न थाले ।
अर्थात् जब हामीलाई कुनै कुराको ज्ञान आवश्यक हुन्छ भने रिसलाई नियन्त्रण गर्न सक्नु पर्दछ । रिसका कारण हामी कहिल्र्यै पनि कसैसँग ज्ञान आर्जन गर्न सक्दैनौं । यदि यो कथामा राजा ती वृद्ध व्यक्तिसँग रिसाएका भए उनलाई जीवनको महत्वपूर्ण ज्ञान मिल्थ्यो त ? कदापी मिल्दैनथ्यो । त्यसैले ज्ञान चाहिएमा क्रोधलाई नियन्त्रण गर्नु पर्दछ ।
यो पनि पढ्नुहोस् ।
केहि मनछुने भनाइ जसले तपाईंलाई उत्प्रेरणा दिन सक्छ