काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा महाधिवेशन नजिकिँदै जाँदा आन्तरिक विवाद पनि बढ्दै गएको देखिएको छ । मूलतः संस्थापन र संस्थापनइतर दुवैपक्ष महाधिवेशन केन्द्रित रणनीति निर्माणमा जुट्दा पार्टीको विवाद बढ्दै गएको हो ।
पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशन प्रभावित पार्नसक्ने गरी विभिन्न आयोग आयोगहरुको गठन र ती आयोगहरुमा पदाधिकारी चयन गर्नथालेपछि संस्थापनइतर पक्ष खुलेरै देउवाको उक्त कदमको विरोधमा देखिएको छ ।
विवाद चर्कदैं जाँदा असन्तुष्ट समूहले देउवालाई आफ्नो निर्णय फिर्ता लिन एक हप्तले अल्टिमेटम नै दिएको छ । शनिबार बसेको संस्थापनइतर समूहको बैठकले देउवाले पार्टीको विधानविपरीत निर्णय गरेको निस्कर्ष निकालेको छ । त्यसैले देउवाले आफ्नो कदम सच्याउनुपर्ने उनीहरुको ठहर छ । त्यसका लागि असन्तुष्ट समूहले एक हप्ताको अल्टिमेटम दिएको छ ।
भर्चुवल बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, शेखर कोइराला, रामशरण महत, महेश आचार्य, धनराज गुरुङ, चन्द्र भण्डारी, गगन थापा, गुरू घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङ, उमाकान्त चौधरीलगायत सहभागी थिए ।
तर देउवाले भने असन्तुष्ट पक्षको अल्टिमेटम या असन्तुष्टिलाई खासै महत्व दिइरहेका छैनन् । उनले भटाभट निर्णय गरेर अघि बढीरहेका छन् । यता असन्तुष्ट पक्ष भने उनका कदमको विरोध गर्दै त आएको छ । तर, आफ्ना कदम सच्याउन भने देउवालाई वाध्य पार्न सकेको छैन ।
सभापति देउवाले विरोधका बाबजुद पार्टीका केन्द्रीय विभाग गठन र विस्तार जारी नै राखेका छन् । देउवाले अहिलेसम्म ४७ वटा विभाग मध्ये २० वटा विभाग बनाएर करिब ९ सयलाई जिम्मेवारी दिइसकेका छन् । विभाग गठन एकलौटी तवरले गरेको भन्दै इतर समूह लगातार नेतृत्वलाई दवाव दिँदै आएको छ ।
पार्टीको आगामी १४ औँ महाधिवेशन नजिकिँदै गर्दा देउवाले एकलौटी रुपमा विभिन्न विभागहरुमा आफू निकट नेताहरुलाई नियुक्त गरेको, अन्य समूहको सुझाव वेवास्ता गरेको, महाधिवेशन अझै पछाडि धकेल्न खोजेको लगायतका विषयमा छलफल भएको थियो।
देउवाले पछिल्लो पटक बुधबार र बिहीबार पनि विभिन्न केन्द्रीय विभागहरुमा आफू निकटका नेताहरुलाई नियुक्त गरेका छन्। यसअघि उनले थुप्रै विभागलाई पूर्णता दिइसकेका छन्।
पौडेल पक्षको विरोधका बाबजुद देउवाले धमाधम विभागहरुलाई पूर्णता दिन थालेपछि पार्टीभित्रको असन्तुष्टि तीव्र रुपमा बढ्दै गएको छ।