काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अहिले तीव्र विवाद देखिएको छ । पछिल्लो समय अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष्य प्रचण्डलाई सहमतिमै पार्टी अलग-अलग बनाऔं भनेपछि उत्पन्न तरंगले राजनीति ततिरहेको छ ।
ओलीले आफूलाई सल्लाहमै अलग-अलग पार्टी बनाऔं भनेको वरिष्ठ नेताहरूसमक्ष प्रचण्डले बताएपछि नेकपा फुट्ने त होइन भन्ने आशंकाहरू पनि हुन थालेका छन् ।
यही परिप्रेक्ष्यमा नेकपाका नेताहरूले आफ्नो धारणा पनि सार्वजनिक गरिरहेका छन् । यद्यपी ती नेताहरूले सामाजिक सञ्जालहरूबाट धारणा सार्वजनिक गर्दा भने सन्तुलित बनाउन हरसम्भव प्रयास गरेको देखिन्छ ।
तिनै मध्येका केही नेताहरूका धारणलाई यहाँ प्रस्तुत गरिएको छ ।
नारायणकाजी श्रेष्ठ 'प्रकाश'- प्रवक्ता एवं सचिवालय सदस्य, नेकपा
हाम्रो पार्टी एकता महान क्रान्तिकारी उदेश्यलाई केन्द्रमा राखेर र धेरै ठुलो मेहनत पसिना लगाएर हाँसिल गरिएको हो ।यसको बिफलता र पार्टी फुट कदापि उचित र सही हुन सक्दैन। फुट र फुटजन्य कृयाकलाप राष्ट्र एवं कम्युनिष्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्च्छुकहरुको चाहाना र जनादेश बिरुध्द हुन्छ । तसर्थ पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिऔं र आ-आफ्नो ठाँउबाट एकताको रक्षाका निम्ति सक्रिय पहल गरौं । पार्टीको बैठक बसौं र सबै पक्षहरुका बारेमा खुला छलफल गरौं । पार्टी भित्र देखिएको छलफल ,बहश र मतभेद अन्ततः बिचार ,सिध्दान्त ,राजनीतिक कार्यदिशा र क्रान्तिकारी पार्टी निर्माण एवं सञ्चालन सम्बन्धी अबधारणासँग सम्बन्धित रहेको हुन सक्ने भएपनि अहिले नै त्यसबारेमा औपचारिक छलफल नभएकाले स्पष्ट मतभेद देखापरिसकेको छैन। तसर्थ यतिबेला पार्टी एकताको रक्षाको निम्ति सबै बाट एउटै कुरामा इमान्दार प्रतिबध्दता भए पुग्छ , पार्टीको बिधि ,पध्दति एवं निर्णयको पालना र कार्यान्वयन । ब्यक्तिवाद,अहंकार ,आवेग र आक्रोशले समाधान दिदैन र कसैको हित गर्दैन । देश,जनता ,श्रमजीवी बर्ग र पार्टी तथा आन्दोलन लाई केन्द्रमा राखेर सोचौं र सकारात्मक निष्कर्ष निकालौं। जान वा अन्जानमा देशी र बिदेशी प्रतिकृयावादी शक्ति हरुको चाहाना पुरा गर्ने कार्य कसैबाट हुन नजाओस् ,सबैले समयमै सोचौ ।
ईश्वर पोखरेलले, सचिवालय सदस्य एवं उपप्रधानमन्त्री
एकताकावेला गरिएको सहमती विपरित पूर्व समूहभित्रको आवद्धताका आधारमा समिकरण बनाएर खेल खेल्नखोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो।त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं,खवरदारी गरौं ! व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं !!
विष्णु पौडेल- नेकपाका महासचिव तथा अर्थमन्त्री
राजनीतिक स्थायीत्व सुनिश्चित गर्ने, संविधानको प्रभावकारी कार्यान्वयन गर्ने र ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाँक्षा पूरा गर्दै समाजवादतर्फ अघि बढ्ने उद्देश्यका साथ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता सम्पन्न भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको थियो ।
पार्टी एकता सम्पन्न भएसँगै हाम्रो सामु दुई वर्षभित्र महाधिवेशन आयोजना गर्ने र सुदृढ एकताका साथ अघि बढ्ने जिम्मेवारी उपस्थित थियो । तर, आजसम्म आईपुग्दा पनि पार्टी एकताको बाँकी काम पूरा हुन नसकेको मात्र होइन, पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत बारम्बार प्रश्न उठेको छ । यतिबेला पार्टी एकता गंभीर संकटको मोडमा आईपुगेको छ ।
नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन सक्तैन । तसर्थ आपसी अन्तरविरोधलाई संवादको कार्यसूची बनाउन, सहमतिका साथ समाधान खोज्न र पार्टी एकताको रक्षा एवम् विकासका लागि सकारात्मक योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरुलाई अनुरोध गर्दछु ।
भीम रावल- स्थायी कमिटी सदस्य, नेकपा
विधि,प्रणाली र संस्थागत निर्णय पार्टी सञ्चालन र मतभेद व्यवस्थापनका मूल आधार हुन्।स्थायी कमिटीको बैठक तुरून्त बोलाइयोस् ।यी कुराको अवज्ञा गरी कसैले फुट र विखण्डनको बाटो समाते देश र जनताप्रति गद्दारी र नेकपा विरूद्धको अपराध हुनेछ । समझदारी,एकता र देशहित मनमा राखी समस्या समाधान गरौं ।
रामकुमारी झाँक्री- नेता, नेकपा
पार्टी किन फूट्ने होला? अनि कसले फूटाउने होला? सबै थोक गर्न दिएकैछ/पाएकै छन।अब पार्टी फूटाएर त्यो बैभव पाउने पनि होईन।पार्टी सदस्य र समर्थकको दिमाग किन खाएको होला ?