सरकारले आगामी आर्थिक वर्ष (२०७८/०७९) का लागि १६ खर्ब ४७ अर्ब २७ करोडको बजेट प्रस्तुत गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आज उक्त बजेट प्रस्तुत गरेका हुन् । जसमध्ये संघको चालु खर्च ६ खर्ब ७८ अर्ब, पुँजीगत खर्च ३ खर्ब ४७ अर्ब र वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ५ अर्ब रूपैयाँ विनियोजन गरेका छन् ।
बजेटको स्रोतमध्ये राजश्वबाट १० खर्ब २४ अर्ब, अनुदानबाट ६३ अर्ब पूर्ति गरिने उल्लेख छ । अपुग रहेको ५ खर्ब रकम मधे ३ खर्ब ९ अर्ब विदेशी ऋण र २ खर्ब ५० अर्ब आन्तरिक ऋणबाट पूर्ति गरिने उल्लेख छ ।
यी हुन् बजेटका मुख्य मुख्य विषय :
खेलकूदमा बजेट वृद्धि, निवृत्त खेलाडीलाई सहुलियत कर्जा
युवा तथा खेलकूद मन्त्रालयलाई २ अर्ब ७४ करोड बजेट विनियोजन गरिएको छ । यो रकम चालु आर्थिक वर्षका तुलनामा ३८ करोडले वृद्धि गरिएको हो ।
बजेटमा सक्रिय खेलजीवनबाट निवृत्त खेलाडीलाई व्यवसाय सञ्चालन गर्न सहुलियत दरको कर्जा उपलब्ध गराउने व्यवस्था समेत मिलाइएको छ ।
त्यस्तै मोरङको वैजनाथपुर, काठमाडौँको मूलपानी, रुपन्देहीको भैरहवा, दाङको लमही, बाँकेको नेपालगञ्ज र कञ्चनपुरको महेन्द्रनगरमा क्रिकेट रंगशाला निर्माण गर्न आवश्यक बजेट छुट्याइएको छ ।
त्यसैगरी झापाको दमकमा बन्ने मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशाला आगामी दुई वर्षभित्र सञ्चालनमा आउने गरी निर्माण गरिने, सोलुखुम्बु, सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ र जुम्लामा हाइअल्टिच्युड स्पोर्टस सेन्टर निर्माण गर्न आवश्यक रकम व्यवस्था गरिएको छ ।
अन्तरराष्ट्रियस्तरमा पदक हासिल गर्न सक्ने सम्भाव्य खेल पहिचान गरी प्रोत्साहन गरिने बजेटमा उल्लेख छ । त्यस्तै अन्तरराष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता वृद्धि गरिने जनाइएको छ ।
पाँचखालमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माण गरिने
काभ्रेपलाञ्चोकको पाँचखालमा निर्माण हुने मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयलाई १ अर्ब ५५ करोड बजेट विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षमा भौतिक पूर्वाधार निर्माणका लागि प्रक्रिया थालिने भएको छ । विश्वविद्यालय निर्माणका लागि आवश्यक जमिनमध्ये पाँचखालसहित नमोबुद्ध नगरको केही वडा समेटिएको छ ।
पोखरा रङ्गशाला आगामी वर्ष निर्माण सम्पन्न गरिने
पोखरामा निर्माणाधीन देशकै सबैभन्दा ठूलो फुटबल रङ्गशाला आगामी वर्षभित्र निर्माण सम्पन्न गरिने भएको छ ।
अन्तर्राष्ट्रिय मापदण्डको निर्माणाधीन रङ्गशालाको हालसम्म ८५ प्रतिशत काम सकिएको छ ।
पशुपति क्षेत्रको गुरुयोजना विस्तार गर्न ३५ करोड
पशुपति क्षेत्र विकास संरक्षण गुरु योजना विस्तारका लागि आगामी आर्थिक वर्षमा ३५ करोड बजेट विनियोजन गरिएको छ ।
यसैगरी लुम्बिनी विकास गुरुयोजनाका काम दुई वर्षमा सम्पन्न गरिने लक्ष्य बजेट वक्तव्यमार्फत राखिएको छ । यसका लागि १ अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ ।
धनुषा जिल्लाको जनकपुरस्थित जानकी मन्दिर क्षेत्र र कपिलवस्तु जिल्लाको तिलौराकोट क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचिकृत गर्न आगामी आर्थिक वर्षदेखि प्रक्रिया अघि बढाइने भएको छ ।
यसअघि यी क्षेत्रमा पुरातत्व विभागले उत्खनन गरेको थियो । विभागले दुवै स्थानमा ऐतिहासिक, पुरातात्विक महत्वका चिजबीज भेटिएको जनाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने घोषणा गर्दै आएको थियो ।
आगामी आवमा चितवनको माडी नगरपालिकास्थित अयोध्यापुरीमा राममन्दिर स्थापना गर्न बजेट विनियोजन गरिएको छ । राम, सीता र लक्ष्मणको मूर्ति बनाई गत रामनवमीमै अयोध्यापुरी लगिएको छ ।
आदर्श राजा रामको जन्म अयोध्यापुरीमै भएको जनाई सरकारले राम मन्दिर निर्माणलाई प्राथमिकतासाथ अघि बढाएको हो ।
देशभरको संस्कृति झल्कने गरी काठमाडौँको कीर्तिपुरमा निर्माणाधीन सांस्कृतिक सङ्ग्रहालय दुई वर्षमा सम्पन्न गरिने प्रतिबद्धता बजेट भाषणमा गरिएको छ । यसैगरी महत्वपूर्ण धार्मिक तीर्थस्थल पाथीभरा, हलेसी, गढीमाई, स्वर्गद्वारी, चन्दननाथलगायतका गुरुयोजना निर्माण गरी धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न बजेट विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ ।
एक हजार ६२९ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने
आगामी आर्थिक वर्ष भित्रमा सरकारी तथा निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनाबाट एक हजार ६२९ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ ।
सरकारी लगानीमा निर्माणाधिन माथिल्लो तामाकोशी, रसुवागढी, राहुघाटलगायत आयोजना तथा निजी क्षेत्रले निर्माण गरिरहेका परियोजनाबाट उक्त परिमाणमा बिजुली जाडिनेछ ।
सरकारले ऊर्जा क्षेत्रका लागि कूल १ खर्ब २१ अर्ब ९७ करोड बराबरको बजेट विनियोजन गरेको अर्थमन्त्री पौडेलले जानकारी दिए । ऊर्जा दक्षता कार्यक्रमलाई समावेश गरिएको छ भने विपन्न नागरिकको घरमा निशुल्क रुपमा विद्युत् जडान गर्ने कार्यक्रम समेटिएको छ ।
आँबुखैरेनीमा बालसुधारगृह निर्माण गरिने
सरकारले तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मा बालसुधारगृह निर्माण गर्ने भएको छ । ढकालटारमा बालसुधारगृह निर्माणका लागि बजेट विनियोजन भएको छ ।
प्रवासी नेपालीको मताधिकार सुनिश्चित गर्ने तयारी
सरकारले विदेशमा रहेका प्रवासी नेपालीको मताधिकार सुनिश्चित गर्न तयारी कार्य अगाडि बढाउने भएको छ ।
त्यस्तै चुनावका लागि आवश्यक बजेट समेत विनियोजन गरिएको छ ।
पत्रकारलाई निशुल्क स्वास्थ्य उपचार, बीमा प्रिमियमको आधा पैसा सरकारले तिरिदिने
सरकारले श्रमजीवी पत्रकारहरुलाई आगामी आर्थिक बर्षदेखि नेपालका सरकारी अस्पतालमा निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरेको छ ।
आगामी आर्थिक बर्षको बजेटमा यस्तो व्यवस्था गरिएको हो ।
नेपाल पत्रकार महासंघमा सदस्य भएका तथा प्रेस काउन्सिलले जारी गरेको उपचार सुविधामा पर्ने श्रमजीवि पत्रकारहरुलाई साउन १ देखि देशभरका सरकारी अस्पतालमा निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिएको छ ।
त्यस्तै श्रमजीवि पत्रकारहरुलाई ७ लाखसम्मको दुर्घटना बीमाको व्यवस्था गर्ने र त्यसको ५० प्रतिशत बीमा प्रिमियम रकम सरकारले ब्योहोरने भएको छ ।
कोभिड १९ बाट प्रभावित पत्रकारहरुको लेखनवृत्ति तथा संचारगृह संचालनको लागि पुनर्कर्जा तथा ब्यवसायिक निरन्तरता कर्जाको समेत व्यवस्था गरिएको अर्थमन्त्री पौडेलले बताए ।
त्यस्तै सरकारले छुट्याउने लोककल्याणकारी बिज्ञापन बापतको कुल रकमबाट १० प्रतिशत रकम पत्रकार कल्याण कोषमा जम्मा गर्ने र निजि क्षेत्रलाई पनि उनीहरुको कुल विज्ञापन खर्चको १० प्रतिशत यस कोषमा राख्नलाई प्रोत्साहन गरिने पौडेलले बताए ।
टेलिकमको २२ प्रतिशत शेयर ग्राहकलाई
सरकारले नेपाल टेलिकमको शेयर विनिमेश गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले टेलिकमको शेयर बिनिमेश गर्ने घोषणा गरेका हुन् ।
उनले टेलिकमको २२ प्रतिशत शेयर बिनिवेष गर्ने र ग्राहकले ति शेयर खरिद गर्न सक्ने बताएका हुन् । २०७८ साल असोज मसान्तसम्म यसको मोडालिटी र मूल्य तोकिसक्ने भएको छ ।
सरकारी कर्मचारीको तलव बढ्यो
सरकारले सरकारी कर्मचारीको तलव बढाएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले सम्पूर्ण राष्ट्र सेवक कर्मचारीको तलव मासिक २ हजारको दरले बढाउने घोषणा गरेका हुन् ।
आगामी साउन १ देखि यो लागु हुने छ । त्यस्तै सरकारले महंगी भत्तालाई निरन्तरता दिएको छ भने सबै प्रदेशमा सरकारी कर्मचारीको लागि सामुहिक आवास बनाउने घोषणा गरेको छ ।
२७ स्थानमा नयाँ शहर बन्ने
सरकारले पुष्पलाल र हुलाकी राजमार्ग आसपासका क्षेत्रमा २७ वटा शहर निर्माण गर्ने लक्ष्य लिएको छ ।
यसका लागि सरकारले आगामी आर्थिक बर्षको बजेटमा ३ अर्ब ३१ करोड बजेट बिनियोजन गरेको अर्थमन्त्री बिष्णु पौडेलले जानकारी दिएका छन् ।
त्यस्तै सरकारले संघीय संसद तथा अन्य सार्वजनिक भवन निर्माणको लागि ५ अर्ब १५ करोड रकम बिनियोजन गरेको छ ।
त्यस्तै सरकारले तामाकोशी ५ विद्युत आयोजना निर्माण सुरु गर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षबाटै तामाकोशी ५ विद्युत आयोजना निर्माण सुरु गर्ने भएको छ ।
त्यस्तै काठमाडौँको तीनकुने देखि जडिबुटीसम्म सुरुङमार्ग बन्ने भएको छ ।र
कोटेश्वर क्षेत्रको सवारी चाप न्युनिकरण गर्न तीनकुने देखि जडिबुटीसम्म सुरुङमार्ग बनाउन १ अर्ब ८० करोड बजेट विनियोजन भएको हो ।
यस्तै दोलखाको लामावगरदेखि लार्चेसम्म पनि सुरुङमार्ग बन्ने भएको छ ।
सांसद विकास कोष खारेज
सरकारले सांसद विकास कोष खारेज गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले पूर्वाधार साँझेदारी कार्यक्रम (सांसद विकास कोष) खारेज गरेको घोषणा गरेका हुन् ।
यस कोषबाट सांसदले ६ करोड बजेट आफ्नो निर्वाचन क्षेत्रको लागि पाउदै आएका थिए । अब भने कोष नै खारेज भएको हो ।