- शिव परियार
- “नरिसाउ ल नानी, बरु एसो बस्ने अरु सथी खोजिदेउ है, एसो आउँदै गर है ।”
- कामी भन्ने बित्तिकै म झस्केँ ।
बा, हजुरबा पुस्तामा ठाडै अपशब्द गाली वचन बोलेर गरेको विभेद मात्रै विभेद थियो, अहिले त माया गरेर बोलेर पो व्यवहार गरेको रहेछ नी, यस्तो नि विभेद हुन्छ र ? भन्ने पुस्ता एसपटक सामाजिक सन्जालमा धेरै देखिए । यो अहिलेको पुस्ताले चैँ विभेद गर्ने शैलीमा अलिक आधुनिकता भित्र्याएको पाइयो । जस्तै हुन्छ नि माया गरे जस्तो गर्दै विभेद कायम राख्ने खतरनाक विभेदको आधुनिक शैली ।
"गालि गरीगरी घाटि रेटे पनि, अथवा ग्वाम्लाङ्गै अङ्गालो हालेर, गालामै च्वाप्प च्वाप्प मोइ खाँदै घाटि रेटे पनि परिणाम त आखिर मृत्यु नै हो । तर, माया गरेको रैछ नि त, चुम्मा पनि त खाकै रहेछ, तेसले घाटी रेटेर मारेको पनि मारेको हो र ? रिसाको, गाली गलौज त्यस्तो केही गरेको थिएन त, कति राम्रोसँग म्वाई खाएर घाँटी रेटेको रहेछ नि त्यसरी रेट्दा पनि मृत्यु हुन्छ र ?
सामाजिक सञ्जालमा यसपाली यही सोच स्थापित गर्न विचार प्रस्तुत गर्ने क्रम जारी देखियो । प्रस्तुत विचारअनुसार जातीय विभेद गर्ने शैलीमा पनि अहिले यस्तै आधुनिकतावाद छिरेको प्रष्ट भएको छ ।
हिजोसम्म हामी जातीय विभेदरहीत समता समाजको पक्षमा छौँ भन्नेहरूको मुकुण्डो उत्रेको पनि देखियो । उनिहरुले यही ठान्ने रहेछन् कि माया गरेर, मिठो बोलेर गरिने विभेद विभेद नै होइन भनेर । मैले माथि भने नि च्वाप्प च्वाप्प मोई खाएर घाँटी रेटेर मार्ने अपराध होइन भने जस्तै । यस्तो सोचसहित आधुनिक शैलीको जातीय विभेद कायम राख्न चाहनेहरूलाई रुपा सुनार र सरस्वती प्राधानको यो विषयले झस्काइदिएको हुन सक्छ ।
अशान्ति भो, सामजिक सदभाव खल्बलियो, यस्तो के गरेको भन्नेहरूलाई मेरो प्रश्न छ "हिजो आफूलाई उच्च जात भनिने पुस्ताले, हिजोको कथित तल्लो जात भनिने पुस्तालाई, विभेद गर्दा, कथित तल्लो जात बनाइएका पुस्ताले प्रतिवाद या विरोध गर्न सकेनन । आफूमाथि भएको विभेद सहन बाध्य भए, किनकी उनिहरूलाई कानुन बनाएर हात खुट्टा बाधिएको थियो, अत्यन्तै कमजोर बनाइएको थियो ।
आफूमाथि जबर्जस्ती लादिएको विभेदको प्रतिवाद गर्न नसक्ने अवस्थामा, विभेद सहन बाध्य पारिएका बर्गले विभेद सहिदिएकै कारण समाजमा कथित उच्च वर्गले शान्ति महशुस गरे । किनकी उनिहरूलाई आफ्नो शान्तिको मात्र चिन्ता थियो ।
आफूलाई उच्च जातको मसिहा मान्नेले बोली वचन र जुत्ताको नोकले कथित तल्लो बनाइएका जातिमाथि प्रहार गरिरहेर आफ्ना लागि निर्माण गरेको शान्ति ती जातीय उत्पीडित बर्गलाई त सधै मुर्दा शान्ति झैँ महसुश भैरह्यो ।
तर आज समय फेरिएको छ । गाउँ गाउँ, शहर शहरमा धेरै रुपा सुनारहरू छन् । उनिहरू छद्म भेषी सोचलाई बुझ्न चुक्दैनन् । अन्याय सहदैनन् । विरोध गर्छन् । अनि आज पनि आफू उच्च भई राखेर अरुलाई निचको दर्जामा देखिरहन चाहनेहरूको फेरि टाउँको दुख्न सुरु हुन्छ ।
'नरिसाउँ ल नानी' भनीभनी आधुनिक शैलीमा विभेदलाई निरन्तरता दिइ नै रहने हो भने यो विभेद समाजमा राखिरहेसम्म सरस्वती प्रधान र रुपा सुनार चरित्रको द्वन्द्व समाजमा जारी नरहला भन्न सकिन्न र त्यो पक्कै पनि नेपाली समाजका लागि हितकर हुने देख्दिन म ।
त्यसैले आमा, बाबा, हजुरआमा हजुरबुबाका अपराध अपराध नै होइन भन्ने कुतर्क छोडेर जातीय समता कायम गर्ने बाटोतर्फ सबै नेपाली लाग्न जरुरी छ ।
किन भने उत्पीडित बर्गले छद्म भेषी जातीय समानता खोजेको होइन । राज्य, समाज र व्यक्तिबाट मान्छेले मान्छेलाई गर्ने समतामुखी व्यवहार अपेक्षा गरेको हो ।
पहिलो कुरा यो दलित भन्ने शब्द बर्ग वा सम्प्रदाय होइन । यो विभेद अन्त्यका लागि संघर्ष गर्न बनाइएको सांगठनिक मोर्चाको नाम हो । हिजोको दिनमा समाजले पानी चल्दैन है भनेर चरम जातीय विभेद गरेका नेपालका करिब २० देखिमाथि जातहरूको साझा संगठन हो दलित ।
जातीय विभेदविरुद्ध जातीय समानता होइन कि जातीय समताको लागि यसको आन्दोलन जारी छ । यहाँ खै किन हो पछिल्लो चरणमा दलित समुदाय भनेर यसलाई जात नै बनाइएको छ । यो गलत छ ।
२०६२/६३ पछि बनेको गनतान्त्रिक सरकारले हिजो चरम विभेद भोगेका दलित, मधेसि, जनजातिलाई बर्ग उत्थानको लागि आरक्षण व्यवस्था गरेको हो । समावेशी हैसियतमा कोटा उपलब्ध गराएको हो । जसमा दलितको जम्मा ९% पर्दछ ।
तर, आफूलाई सर्वहारा जनताको मसिहा ठान्ने सरकारले अहिले त्यो पनि पूर्ण कार्यन्वयन गर्न बन्द गरेको छ ।
हरेक विभेदको घटनामा एउटा सामन्त बर्गको पिँढी सामाजिक सञ्जालमा कोटा खारेज गर, दलित कोटा खारेज गर भनीभनी कुर्लन्छ । उसको मुख्य टार्गेट नै दलित कोटा खारेज गराउँनु हो ।
उसले महिला आरक्षण खारेज गर भन्न सक्दैन किनकी महिला आरक्षणका नाममा त ३३% उसैको बर्गको प्रतिनिधित्व छ । यो विषयमा बोल्दा उसको आफ्नै बर्गको टाउँको फुट्छ भन्ने उसलाई थाहा छ, त्यै भएर डराँउछ ।
उसले जनजातिको आरक्षणको विषयमा त झन् बोल्ने कुरै भएन एक नं. प्रदेश नै बन्द हुने सम्भावना भो । जनजातिहरूसँग भिड्न अलि आँट पुगेन उसको ।
अब आयो मधेसी समुदाय अहिले तराईका मधेसी समुदायको आरक्षण कतौतीका विषयमा उसले चुइक्क बोल्न सक्दैन । किनभने देश नै दुइटा बनाउँछु भन्ने थ्रेट र तराई झर्नै बन्द हुने अवस्था आउन सक्दछ ।
त्यसैले अब बाँकी को रह्यो भन्दा हिजो चरम जातीय विभेद गरेर दासत्व स्वीकार गर्न बाध्य पारिएका दलित । यीनिहरूलाई पेलेरै ठिक पार्नु पर्छ । यीनीहरूलाई जे गर्दा पनि हुन्छ भन्ने सोचका साथ दलित कोटा खारेज गर भन्ने अभियानका साथ निशाना साँधिएको छ ।
के २०६२/६३ अगाडि विभेद थिएन ? दलितको कोटा खारेज हुने बित्तिकै सबले समतामुलक आधिकार पाउँछन् ? जातीय समता सहितको समानता कायम हुन्छ ? कदापि हुँदैन । यो त जातीय रुपमा हिजो दबाईएका दलनमा पर्न बाध्य बनाइएका, मान्छे पनि होइन कि चरम जनावर भन्दा पनि निच ब्यबहार खप्न बाध्य पारिएका दलितका आजका पुस्ता, जो समाजमा शिक्षित भएर बोल्न थाले, उनिहरूको पनि पहुँच पुग्न थाल्यो, उनिहरू पनि हजुर हजुर गरेर टाउँको निहुर्याएर बोल्नुको सट्टा आँखामा आँखा मिलाएर व्यवहार गर्न थालेपछि, अहो अब हाम्रो भाग खाने भो, भन्ने डरले फेरि उनिहरूलाई त्यही दासत्वको जीवन बाँच्न बाध्य पारिनका लागि सामन्त जहिले पनि कोटा खारेज गर भन्दै छ ।
उसले जातीय विभेद हुनु हुँदैन भन्दैन बरु कोटालाई कोठासँग जोडेर बहस गर्छ यो त्यै सामन्तको पिँढी हो जसले हिजो मान्छेलाई मान्छे बन्न नदिएकै कारण आज देशमा यत्रो परिवर्तन भै सक्दा पनि एउट बर्ग हरेक दिन मान्छे हुँ म भनेर आफ्नो अस्तित्व मान्छे भएको संसारलाई बताउँन बाध्य छ ।
आफ्नो ब्यक्तिगत सम्पत्तिलाई यदि कसैले आम्दानी गर्नकै लागि सेवाको माध्यम अपनाएर पब्लिक प्लेट्फर्मसम्म लान्छ भने चाहे मिठो बोलेर होस चाहे तितो बोलेर होस त्यँहा जातीय विभेद गर्न पाइँदैन ।