सन् १७७९ मा अमेरिकाको राष्ट्रपतिय शासन प्रणालीको संविधान बन्नुभन्दा झन्डै ५०० वर्ष अगाडि नै बेलायतमा संसदीय शासन प्रणालीको सुरुवात भइसकेको थियो। फ्रान्सका राजनीति दार्शनिक मन्टेसक्युको धारणा बेलायतमा शक्तिशाली संसदीय प्रणाली र अमेरिकामा आकर्षक राष्ट्रियपतीय प्रणाली आज पनि विश्वका अधिकांश देशमा अभिन्न राजनीति आदर्श मानिन्छन्। राजनीतिमा अकाट्य दर्शन र प्रणाली हुँदैन । त्यसैले जनमतलाई राजनीतिक दर्शन र प्रणालीको मुख्य आधार मान्छन् जे. एस. मिल । उनी स्वतन्त्रता र प्रजातन्त्रका प्रवर्धक हुन् ।
१८औं शताब्दी पछिको औद्योगिक क्रान्तिले थप उत्साह दिएको बजारको स्वतन्त्रतालाई काल मार्क्सको द्धन्द्धात्मक भौतिकवादको सिद्धान्तले थुप्रै चुनौती दियो । यो चुनौतीलाई चाहे संसदीय शासन प्रणाली होस् या राष्ट्रपतीय शासन प्रणाली दुवैले बजारको स्वतन्त्रतालाई पूर्णरूपमा स्वीकार गरे । तर राजनीतिभित्रको स्वतन्त्रतामा राजनीति दल र सत्ताको मोह कति उत्कर्षसम्म पुग्यो भन्ने कुरा प्रथम, दोस्रो विश्वयुद्ध र १९७० पछि जन्मेको नयाँ विश्व व्यवस्था र अहिलेको पूर्वी र पश्चिमी प्रजातन्त्र बीचको फरकले संसारलाई द्वन्द्वमा मात्र फसाएन, यसले राजनीति र बजारको अवसरमा समेत ठूलो खाडल पैदा गर्यो ।
प्रविधिमा एआइको प्रयोग र जीवन पद्धतिमै प्रविधिको स्वभावमा रमाउन पुगेको ९० को दशक पछिको पुस्तालाई उन्नत मानिएका राजनीतिक प्रणालीले विश्वास गरेनन् र स्वीकार गर्न पनि सकेनन् । कर्मचारीतन्त्रीय पद सोपान र नियन्त्रण प्रणालीमा आधारित प्रचलित संसदीय र राष्ट्रपतीय शासन प्रणालीभित्र नयाँ सोच, स्वभाव, नतिजा र चुनौतीलाई स्वीकार गर्न कतिपय देशका नेतृत्व तयार भएनन् र योग्य पनि देखिएनन् । यो राजनीतिक प्रणालीको जेनेरेसन ग्याप हो । तर यो स्वीकार गर्न पुरानो पुस्ता तयार छैन ।
फिलिपिन्स, श्रीलङ्का, बङ्गलादेश हुँदै नेपाल प्रवेश गरेको र इन्डोनेसिया र फ्रान्समा देखिएको जेन्जी पुस्ताको आन्दोलनभित्र पूर्वी र पश्चिमा दुवै शक्तिशाली देशहरु आफ्नो पकडभित्रको राजनीति भनेर परिभाषित गर्दै होलान् । यो अलेक्जेन्डर र मुगलहरूको साम्राज्य विस्तारको नीतिभन्दा फरक छैन । ती साम्राज्यहरु पनि कालान्तरमा विलय भए । तर परिवर्तन यद्यपि छँदैछ । अहिले देशभित्रको शासनमा खेल्नेहरुलाई के थाहा ! परिवर्तन उनीहरूको पोल्टाबाट बाहिर जाँदैछ । ‘जेन–जी’हरूको आकांक्षा र परिवर्तनको भुमरी क्रमशः प्रजातान्त्रिक आदर्श बोकेका भारत अमेरिका लगायतका देशहरूबाट नै बढी आकर्षित छन् । किनकी १९९० दशकपछिको पुस्ता नयाँपन चाहन्छ । स्वतन्त्रता चाहन्छ । त्यो स्वतन्त्रता राजनीतिभन्दा माथि हुनुपर्छ भन्ने उसलाई लाग्छ । र यसको जन्म तिनै देशहरूबाट भएको हो । अहिले विश्वका सबै देशहरूमा यो चेतना फैलिँदैछ ।
अहिलेको नयाँ पुस्तालाई राष्ट्रपति र कुनै शासन प्रणालीभन्दा माथिको समानता चाहन्छ । यो समयको माग हो । पुँजीले प्रविधिलाई यति माथि उठायो कि अब ऊ देशगत असमानताभन्दा पनि वसुदैव कुटुम्बकममा विश्वास गर्न थालेको छ । यो १९९० को दशकपछिको विश्वव्यापीकरणको उच्चतम लाभ वा हानीको नतिजा हो । हामीले खोजेको पुँजीवादको उत्कर्ष यही हो र यसमा कुनै पनि राजनीतिकर्मी वा नेतृत्व पछुताउनुपर्ने वा डराउनुपर्ने जरुरी छैन । यो परिवर्तनले हामीले खोजेको राजनीति वाद वा दर्शनभन्दा फरक मानवता र विश्व भातृत्वतिर बढ्न संकेत गर्छ र यसले कुनै पनि समूह र स्वार्थको रक्षा गर्दैन ।
अहिलेको विश्वमा देखिएको ‘जेन–जी’हरूको एउटै स्वर एउटै भावना र एउटै दृष्टिकोणले विश्व अर्थ र राजनीति दोस्रो चरणमा प्रवेश गर्दैछ भन्ने कुराको संकेत मिलेको छ र यो क्रमशः हुने नै छ । अर्थ राजनीतिको पहिलो चरण धर्म र समाजको कठोर नियम थियो । दोस्रो चरण पुँजी र व्यापारको कठोर र एकाधिकार प्रणाली थियो र यसैको उत्कर्षमा जन्मेका राजनीति र अर्थशास्त्र भित्रका दर्शनले आजसम्म संसारका देशहरूमा शासन गरे । धरातल यही नै हो । अबका दशकमा प्रविधिले राजनीति र बजार दुवैलाई छुट्टै युगमा प्रवेश गराउँदैछ जसको संकेत अहिले युवाहरुले दिन थालिसकेका छन् । र, यसैलाई पुराना पुस्ताले विद्रोह ठान्छन् । ‘जेन–जी’ आन्दोलन मान्छन् तर यो समयले ल्याएको परिवर्तन हो । प्रत्येक परिवर्तनहरुलाई विश्व वातावरणले प्रभाव पारेको छ । यसैको प्रभाव नेपालमा परिसकेको छ। अब नेपाल नयाँ युगमा प्रवेश गर्दैछ ।
नेपालमा राजनीति परिवर्तन नै भएन । मात्र राजनीति सहमति भयो । त्यसैले बेलाबेला जन्मेका आदर्श नेताहरू त्यही राजनीति प्रयोगमा बिलिन भए । अहिलेको ‘जेन–जी’ पुस्ताले त्यही खोज्दैछ । अचम्म लाग्छ ‘जेन–जी’ पुस्ता संस्कृति इतिहास परम्परा र नेपाली आदर्श पुरुषको खोजी गर्दैछ । यो खोजी ७ सालदेखि ८२ सालसम्म कसैले गरेन । मात्र आफ्नो खोजी गर्यो । हामीले पनि विश्वले अपनाएका संसदीय शासन प्रणाली अपनायौं । यो संसदीय प्रणाली आफैमा नराम्रो थिएन । तर यसका दुर्गुणहरूलाई हामीले पन्छाएनौँ र सधैंभरि बहुमत अल्पमतका आधारमा तेरो र मेरो गरेर शासन गर्यौं ।
संसदीय शासन प्रणालीको सबैभन्दा खराबी पक्षलाई अपनाइयो । यो खराबी पक्षले नै आज नयाँ पुस्ताहरूको हातमा शासन पुर्याएको छ । जे.एस. मिल जोनलकको आदर्श प्रजातन्त्र एक्काइसौँ शताब्दीमा देखिँदैछ। अहिले ‘जेन–जी’हरूले खोजेको स्वतन्त्रता उन्नत प्रजातन्त्रभन्दा कम देखिँदैन । यति हो यो प्रयोगधर्मी हुनसक्छ। किनकि ‘जेन–जी’हरूको सुरुवात नै प्रयोगबाट हुने गर्छ र यसले नतिजा दिइसक्दासम्म आफू कति राष्ट्रवादी र कठोर हुन सकिन्छ भन्ने चुनौती सदैभरि रहिरहन्छ । यो चुनौतीलाई अहिलेको विश्व राजनीति र बाडिएको प्रजातन्त्रको सिमाभित्र राखेर शासन गर्नु सानोतिनो चुनौती होइन ।
विश्वका ठूला विश्वविद्यालय र प्रविधिको युग बुझेको ‘जेन–जी’ पुस्तालाई विश्व राजनीति पनि राम्ररी थाहा छ भन्ने हामी पछिल्ला पुस्ताहरुले विश्वास गरौं । त्यसैले परिवर्तनलाई सहजै स्वीकार गरेर उनीहरूलाई सहयोग गर्नु आजको चुनौती हो । यो राजनीतिभित्र रमाएका र शासन प्रणालीमा अनुहार उज्यालो पार्ने वर्गलाई अप्ठ्यारो पर्ला तर यो समयको माग हो । अबका दिनमा नेपालको भविष्य नदोहोरियोस् । ‘जेन–जी’ युवा वर्गलाई शासनमा शुभकामना ।
फेसबुकबाट ।