काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पछिल्लो समय विकसित घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गर्दै अब नूतन कांग्रेस निर्माणमा जुट्न आह्वान गरेका छन् ।
उनले देशको राजनीतिमा नयाँ प्रयोग भएको उल्लेख गर्दै यसलाई सतर्कतापूर्वक हेर्नुपर्ने पनि बताएका छन् । हेर्नुस् शनिबार कोइरालाले फेसबुकमा गरेको पोस्टः
प्रिय साथीहरू
मुलुकभित्र उत्पन्न राजनीतिक परिस्थितिबारे हामी सवै जानकार नै छौँ । मुलुक वेगवान रूपमा नयाँ दिशातर्फ दौडिन खोजेको छ । देशको राजनीतिमा नयाँ प्रयोग अगाडि आएको छ । हामीले यसलाई सतर्कतापूर्वक हेर्नुपर्छ ।
यही भाद्र २३ र २४ गते देशमा जे जस्ता घटनाहरू घटे र त्यसको परिणामस्वरूप “जेनजी” आन्दोलनको युवा ऊर्जा र चेतनाबाट प्रस्फुटन भएको नयाँ सरकारले आम नागरिकको भरोसा र विश्वास जितेर काम गर्नेछ भन्नेमा म विश्वस्त छु ।
म यहाँ जेनजी आन्दोलनलाई कसरी हेर्नुपर्छ र तत्कालीन सरकारले कसरी हेर्यो भन्नेबारे समीक्षा गर्दिनँ, यसवारे मैले भाद्र २३ गते सरकार संयम भएन भनेर आफ्नो विचार सार्वजनिक रूपमा राखेको कुरा साथीहरूलाई विदितै छ ।
भाद्र २४ गते आन्दोलनको आह्वान गर्ने जेनजीको नाममा भएको सार्वजनिक सम्पतिको लुटपाट र आगजनी, व्यक्तिको सम्मानमा पुर्याएको पासविक व्यवहार र समाजमा फैलाएको त्रासलाई किमार्थ पनि सभ्य समाजले २१औँ शताव्दीमा आन्दोलन वा समाज परिवर्तन भन्न सक्तैन ।
त्यसक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जसको लोकतान्त्रिक आन्दोलनमा अतुलनीय त्याग, संघर्ष र इतिहास छ, उहाँमाथि घरमा बसीरहेको समयमा पत्नी समेतमाथि गरिएको हातपात र लुटपाटलाई म जघन्य अपराधको कोटीमा राख्छु, यसको जति निन्दा गरे पनि कम हुन्छ ।
हिजो कांग्रेस कहाँ चुक्यो ? के भयो ? र के हुनुपर्थ्यो ? भनेर म यहाँ समय खर्च गर्न चाहन्नँ । अब नयाँ परिस्थितिमा नेपाली कांग्रेसका साथीहरू कसरी अगाडि बढ्ने भन्ने प्रश्न हामीसामु छ । यस विषम परिस्थितिमा हाम्रो पार्टीका अग्रजहरूबाट हामी शिक्षा लिन सक्छौँ । हाम्रा अग्रजहरू बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायत अनेकन् योद्धाहरूले लोकतान्त्रिक आन्दोलनमा छोडेको पदचिह्नबाट भावी कांग्रेसको दिशा निर्धारण गर्नु पर्दछ ।
साथीहरू,
लोकतान्त्रिक समाजवादको दियोलाई हिमाल, पहाड र तराई- मधेशमा कांग्रेस नेता र कार्यकर्ताहरूले अनेकन कष्ट, यातना र बलिदान दिएर निभ्न दिएनन् । यो हाम्रो प्रेरणाको श्रोत हो । आज फेरि एकपटक लोकतान्त्रिक इतिहासका ति योद्धा, नेता र शहीदहरूलाई सम्झेर कांग्रेसले भावी दिनमा आफ्नो भूमिका तय गर्नुपर्नेछ । हामीसँग आँसु बगाएर र पश्चाताप गरेर खेर फाल्ने समय छैन, निश्चय नै विगतमा हामी आम नेपाली दाजुभाई दिदीबहिनीहरूले गरेको अपेक्षा अनुरूप खरो उत्रिन सकेनौँ होला । यसको लागि गर्नुपर्ने प्रायश्चित गर्न हामी पछि पर्दैनौँ, गर्नुपर्छ ।
मुख्य कुरो आज नेपाली समाजमा परिवर्तनको तीव्र चाहना छ । हाम्रा युवाहरू आफ्नै देशमा आफ्नो सुन्दर र समृद्ध भविष्यको खोजीमा छन् । कांग्रेस त्यसको माध्यम बनोस् र बन्नुपर्छ भन्ने आम नागरिकको चाहना छ । हाम्रो भावी ध्येय यसैमा केन्द्रित हुनुपर्छ भन्ने मलाई लाग्छ ।
समयको पदचाप अनुरूप हामी हिँड्न नजान्दा जेनजीको आन्दोलनले दुई ठूला राष्ट्रिय दललाई सत्ताबाट बाहिरिन बाध्य पार्यो । नेपाली समाज र यहाँका उर्जावान युवाहरू एकातिर छन्, कांग्रेसको सोच र दृष्टिकोण अर्कोतिर बग्यो, केही रणनीतिक भूलहरू भए, हामी चुक्यौँ । समाज र युवाको भावनालाई राष्ट्रिय भावधारामा समाहित गर्दै एउटा शक्तिशाली राष्ट्र निर्माणमा हामी समर्पित हुनेछौँ भन्ने प्रण गर्छौं ।
साथीहरू,
जसरी देशमा नयाँ सम्भावनाहरू प्रकट भैरहेका छन् । नयाँ घटनाहरू अगाडि आएका छन् । यी सबैको संवाहक भएर नेपाली कांग्रेस अगाडि आउनुपरेको छ । कांग्रेसभित्र नेतृत्व, संगठन र विचारमा नयाँपन ल्याउने जिम्मेवारी तपाईं हामी सबैको हो । यसको लागि देशव्यापि बहस, छलफल र विवेकपूर्ण कदमहरू कसरी अगाडि बढाउने भनी म तपाईंहरू विच दशैँ लगत्तै देशव्यापि रूपमा आउनेछु ।
अन्तमा,
सत्ताको केन्द्रमा को छ ? पार्टी केन्द्रमा को छ ? अब यस्ता विषय गौँण भए । हामी जनताको केन्द्रमा बस्ने अभियानमा लागौँ । पार्टी “न दाजुको न भाईको कांग्रेस कांग्रेसजनको” भनेर अगाडि बढौँ । जनताको भरोसा र विश्वासलाई शिरोधार्य गर्दै अगाडि बढे राष्ट्र निर्माणको अभिभारा स्वतः तपाईं हाम्रो जिम्मेवारीमा आउँछ । बीपी कोइरालाको दिव्यवाणी सम्झौँ “नेपाल पक्कै ब्युझिन्छ जय नेपालको नाराले” फेरि एकपटक देशभरि यसलाई बुलन्द गरौँ ।
बीपीका पिताजी कृष्णप्रसाद कोइरालाले १ सय वर्षभन्दा अगाडि निर्माण गर्नुभएको विराटनगरको “कोइराला निवास" जहाँ म बस्थेँ । जहाँ हजारौँ लोकतान्त्रिक योद्धाहरूको भावना जोडिएको थियो । लोकतान्त्रिक आन्दोलनको धरोहर थियो कोइराला निवास । नेपालको लोकतान्त्रिक आन्दोलनको मन्दिर थियो । भाद्र २४ गते जलेको छ, जलाईएको छ ।
कोइराला निवासको भौतिक संरचना खरानी हुनसक्छ । तर विचार र लोकतान्त्रिक आन्दोलनलाई जलाउन सकिन्न । बीपी विचार मर्न सक्तैन । पिताजीको सामाजिक आन्दोलनको विज र राज्यलाई प्रश्न गर्ने क्षमताले विश्राम किमार्थ लिदैन । कोइराला निवासको खरानी विजबाट नुतन कांग्रेसको नवनिर्माणमा जुट्ने प्रण गरौँ ।
डा. शेखर कोइराला
२०८२ भाद्र २८ गते ।