आजदेखि सोह्र श्राद्ध सुरु भएको छ । सोह्र श्रद्ध सुरु हुनुलाई दशैंको आगमनको संकेतका रुपमा लिइन्छ । सोह्र श्राद्धको समाप्तीसँगै नौरथा सुरु हुन्छ । र यससँगै दशैंको रौनक पनि । यो यस अघिका वर्षहरुको कुरा हो । तर, यस वर्ष भने परिस्थिति अन्य वर्षहरुको तुलनामा भिन्न छ ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसका कारण अहिले नेपाल पनि आक्रान्त छ । सरकारले कोरोना भाइरस फैलनबाट रोक्नका लागि झण्डै ६ महिनाभन्दा बढी समयदेखि कहिले लकडाउन त कहिले सटडाउन गरिरहेको छ । लकडाउन या सटडाउन जे नाम दिइए पनि आम नेपालीको जनजीवन यसअघिका वर्षहरुमा जस्तो छैन । मुलुकका आर्थिक गतिविधिहरु प्रायः ठप्प छन् भने ज्याला मजदुरी गरेर दुई छाकको जोहो गर्नेहरुको दैनिक अझ बढी दयनीय छ । यो वास्तविकतासँग सरकार पनि जानकार नै छ ।
यसअघिका वर्षहरुमा यतिबेला दशैंको किनमेल गर्ने, उपत्यकाबाट बाहिरिनेहरुले गाडिको टिकट काट्ने जस्ता काम गरिसकेका हुन्थे । ठाउँठाउँमा दशैं बजार खुल्ने तयारी त कतै कतै चहलपहल नै भइसकेको हुन्थ्यो । तर, यस वर्ष त्यो सब देखिइरहेको छैन । यसवर्ष कोरोना भाइरसको माहामारीका कारण धेरै कुरा अस्तव्यस्त हुनुको परिणाम हो यो ।
सरकारले ६ महिनादेखि कोरोना भाइरसलाई नियन्त्रणमा लिन गरेको प्रयास सफल भइरहेको छैन । संक्रमितहरुको संख्या बढीरहेको छ । यसले दुईवटा कुराहरु भएका छन्, पहिलो कोरोनाको संक्रमण फैलिन रोकिएको छैन भने अर्काे आम जनता लकडाउनबाट आजित भइसकेका छन् । परिणामतः संक्रमण बढीरहेको बेला आम जनतामा लकडाउनप्रति वितृष्णा बढ्दैछ । यसको एउटै कारण के हो भने हामी लकडाउन र त्यसपछिको व्यवस्थापनमा असफल भयौं ।
तर, अब दशैं पनि नजिकिँदै गएको सन्दर्भमा सरकार तथा सरोकारवाला निकायले यसको व्यवस्थापनमा गम्भीरतापूर्वक सोच्नु आवश्यक छ । किनकी दशैंको माहौलमा हामीहरु रमाईरहँदा कोरोना भाइरस नियन्त्रणबाहिर नजाओस् । त्यसका लागि आजैबाट व्यवस्थापन सुरु गर्न ढिलो गर्नु हुँदैन ।